जनकपुरधाम । मधेश प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ । सत्तागठबन्धनभित्रको आन्तरिक असन्तुष्टिका कारण बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
गत वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाएका थिए । तर दिउँसो १ बजेसम्म पनि बैठक सुरु हुन सकेको छैन । बैठक दिउँसो १ः१० बजका लागि सारिएको छ भने अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ ।
जसपा नेपालको निर्णय बाँकी
सत्तारूढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अझैसम्म विश्वासको मत दिने वा नदिने भन्ने विषयमा औपचारिक निर्णय गर्न सकेको छैन । यसले मुख्यमन्त्री यादवको लागि थप चुनौती थपिदिएको छ ।
कांग्रेसभित्रै जोखिम
कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवलाई आफ्नै पार्टीबाट समेत फ्लोर क्रस गर्ने जोखिम रहेको स्रोतहरूले बताएका छन् । आन्तरिक समीकरणमा देखिएको असन्तुष्टिले गर्दा विश्वासको मत प्राप्त गर्न कठिन हुने आकलन गरिएको छ ।
प्रदेशसभा बैठकको निर्णयले मधेश प्रदेशको राजनीतिक स्थिरतालाई प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया