रास्वपाको पहिलो महाधिवेशनमा चार पदमा सर्वसम्मत नेतृत्व चयनहुने पक्का

रास्वपाको पहिलो महाधिवेशनमा चार पदमा सर्वसम्मत नेतृत्व चयनहुने पक्का


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ। विभिन्न राजनीतिक दल तथा समूहसँगको एकता र समायोजनपछि हुन लागेको पहिलो महाधिवेशन भएकाले निर्वाचनभन्दा सहमतिमार्फत नेतृत्व चयन गरेर एकताको सन्देश दिन खोजिएको पार्टी नेताहरूले बताएका छन्।

पार्टीले असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ। २०७९ असार ७ गते स्थापना भएको रास्वपाले त्यसलगत्तै भएको प्रतिनिधिसभा निर्वाचनमा २१ सिट जितेको थियो। जेनजी आन्दोलनपछि भएको राजनीतिक समीकरणसँगै विवेकशील साझा पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वको समूहसँग पार्टीले एकता गरेको थियो। महामन्त्री भूपदेव शाह का अनुसार पहिलो महाधिवेशन भएकाले सहमतिमै नेतृत्व चयन गर्ने विषयमा पार्टीभित्र सकारात्मक छलफल भइरहेको छ। उनले सबै पक्षको सहमतिमा नयाँ नेतृत्व चयन हुनेमा पार्टी आशावादी रहेको बताए।

पार्टी स्रोतका अनुसार सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह, उपसभापतिमा स्वर्णिम वाग्ले तथा महामन्त्रीमा भूपदेव शाह दोहोरिने सम्भावना बलियो रहेको छ। हालको विधानअनुसार पार्टीमा एक सभापतिसहित ११ पदाधिकारी रहने व्यवस्था छ। महाधिवेशन प्रतिनिधिबाट एक सभापति र ९९ केन्द्रीय सदस्य चयन हुने तथा तिनै केन्द्रीय सदस्यबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गर्ने प्रावधान रहेको छ।

यद्यपि, महाधिवेशनअघि विधान संशोधन गरेर पदाधिकारी संख्या तथा केन्द्रीय समितिको आकार हेरफेर हुन सक्ने संकेत नेताहरूले दिएका छन्। सहमहामन्त्री विपिन आचार्य सहितको विधान मस्यौदा कार्यदलले देशभरबाट सुझाव संकलन गरिरहेको जनाएको छ।  रास्वपाले महाधिवेशनलाई लक्षित गर्दै राजनीतिक प्रतिवेदन लेखन, व्यवस्थापकीय तयारी तथा कार्यविभाजनलाई समेत तीव्र बनाएको जनाएको छ। पार्टी नेताहरूले सफल महाधिवेशनपछि संगठनलाई थप ऊर्जा र स्पष्ट राजनीतिक दिशा मिल्ने विश्वास व्यक्त गरेका छन्।