काठमाडौ । बाजुराको हिमाली गाउँपालिका लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।
विवाद भएको ठाउँमा लङ रुट पट्रोलका लागि इन्स्पेक्टर लक्ष्मीराज जोशीको कमान्डमा १६ जना सुरक्षाकर्मी त्यसतर्फ पठाइएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले बताइन् । इन्स्पेक्टर जोशीसँगै सशस्त्र प्रहरी बलका १० जना सुरक्षाकर्मी त्यसतर्फ गएका छन् । जिल्ला सदरमुकामबाट लाम्पाटा पुग्न ३ दिन पैदल हिँड्नुपर्छ । एलआरपीमा गएको टिमले त्यहाँको वस्तुस्थिति बुझेर फर्किने डीएसपी बोहराले जानकारी दिइन् ।
हुम्ला र बाजुराको सीमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीय बिच वैशाख ३ मा झडप भएको थियो । झडपमा परेर बाजुराको हिमाली गाउँपालिका–५ लाम्पाटा घर भएका ५ जना घाइते भएका थिए । हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सीमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो ।
चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया