काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले बनाएको मोबाइल एप “मोफा मित्र (MoFA Mitra)” औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा एपको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग महत्वपूर्ण रहेको बताए । उनले “मोफा मित्र” एपमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपाली नियोगबीच सहज सम्पर्क, समन्वय तथा छिटो सूचना आदानप्रदान हुने विश्वास व्यक्त गरे ।
उनले विदेशमा रहेका नेपाली नागरिकका गुनासा तथा समस्याको प्रभावकारी सम्बोधनमा पनि एपले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
कार्यक्रममा कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाले कन्सुलर सेवाको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका लागि विभाग निरन्तर सक्रिय रहेको जानकारी दिइन् । उनले नेपाल सरकारको नीति अनुरूप कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले एप विकास गरिएको बताइन् ।
विभागका अनुसार “मोफा मित्र” एपमार्फत विदेशमा समस्या परेका, अलपत्र परेका वा हराएका नेपाली नागरिकहरूको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता गर्न सकिनेछ । यस्तै, मृत्यु भएको अवस्थामा शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति रकम दाबी लगायतका गुनासा तथा समस्यासमेत एपमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
एपमार्फत प्रयोगकर्ताले आफ्नो निवेदनमाथि भएको कारबाहीको जानकारी पनि लिन सक्नेछन् । साथै नेपाली नियोगहरूको सम्पर्क विवरण, नियोगले उपलब्ध गराउने सेवासम्बन्धी जानकारी, ट्राभल एड्भाइजरी, सुरक्षा सूचना, कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्न (FAQs) तथा अन्य उपयोगी जानकारीहरू पनि समावेश गरिएको विभागले जनाएको छ ।
एन्ड्रोइड तथा iOS दुवै प्लेटफर्ममा उपलब्ध रहेको “मोफा मित्र” एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया