म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रमा रहेको पर्यटकीय स्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठबास’ सञ्चालनमा आएको छ । समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा अवस्थित यो ठाउँमा बस्ती, होटल र रेस्टुराँ नभए पनि स्थानीय पशुपालक किसानहरूले गोठमै पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाएका छन् ।
ढोरपाटन शिकार आरक्षभित्र पर्ने जलजलामा पक्की संरचना निर्माण गर्न नमिल्ने नीतिगत व्यवस्थाका कारण यो नयाँ र सिर्जनशील अवधारणा अघि सारिएको हो । गोठबास सञ्चालक फुलबहादुर विश्वकर्माले भन्नुभयो, “पर्यटकहरूले बारम्बार गोठमै बस्ने अनुरोध गर्न थालेपछि हामीले यो सुविधा सुरु गरेका हौं । गोठालाहरूलाई अतिरिक्त आम्दानी भएको छ भने पर्यटकहरूलाई पनि सहज भएको छ ।”
जलजला घुम्न आउने पर्यटकले अग्रिम फोन सम्पर्क गरी बुकिङ गर्नुपर्ने व्यवस्था छ । एकै पटक २० जनाभन्दा बढी पर्यटक आएमा पालो लगाएर व्यवस्था मिलाइन्छ । यसअघि सीमित पर्यटक मात्र आउने यो क्षेत्रमा म्याग्दी–ढोरपाटन–पूर्वी रुकुम जोड्ने सडक मार्ग खुलेपछि पर्यटकको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिक चार/पाँच वटा गाडी र १५/२० वटा मोटरसाइकलमार्फत एक सय जनासम्म पर्यटक जलजलासम्म पुग्न थालेका छन् ।
गोठबासमा पर्यटकलाई स्थानीय स्वादिष्ट परिकार उपलब्ध गराइन्छ । च्याउ, टुसा, ढकायोको तरकारी, ढिँडो, आटो, गाईभैंसीको ताजा दूध, दही, मोही र खसीको मासु मुख्य आकर्षण रहेका छन् । आन्तरिक पर्यटक प्रतापजङ्ग थापाले भन्नुभयो, “अघिल्लो पटक टेन्ट बोकेर वा ओडार खोजेर रात कटाउनुपर्ने अवस्था थियो । अब गोठबास भएपछि सहज भएको छ । घुम्ती गोठको अनुभव निकै रोमाञ्चक र फरक छ ।”
जलजला धौलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको बर्खायामको मुख्य चरन क्षेत्र हो । बर्खायाममा भेडाबाख्रा, गाईभैंसी र घोडा लिएर गोठ लगाउने परम्परा यहाँ अझै जीवित छ । समथर पाटन, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावा र अगाडि देखिने हिमालको लामले पर्यटकहरूलाई लोभ्याउँछ । जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल तथा सूर्योदयको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
यो क्षेत्र दुर्लभ रेडपाण्डा (हाब्रे) को वासस्थान पनि हो । वनजङ्गल, समथर फाँट र वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकनले जलजलालाई थप महत्वपूर्ण बनाएको छ ।धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गोठबासलाई थप प्रभावकारी बनाउन पहल भइरहेको बताउनुभयो । “हामीले खानेपानीको व्यवस्था मिलाएका छौं र सार्वजनिक शौचालय निर्माण थालेका छौं,” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा रु. नौ लाख बजेट विनियोजन गरिएको छ । ढोरपाटन शिकार आरक्षसँग समन्वय गरी अस्थायी टहरा र गोठहरू थप्ने योजना छ ।”
पालिकाले जलजला पर्यटन प्रवद्र्धन कार्यक्रम पनि सम्पन्न गरेको छ । ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा हुँदै धौलागिरि आधार शिविर जोड्ने पदमार्ग निर्माणको अवधारणा अघि सारिएको छ । कसरी पुग्ने ?
धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट जिप वा मोटरसाइकलमा दुई घण्टामा जलजला पुगिन्छ । ढोरपाटनको पाखाथरबाट कच्ची सडक हुँदै एक घण्टा ३० मिनेट लाग्छ । पैदल यात्रा गर्न चाहनेलाई पाँचदेखि छ घण्टा समय लाग्छ ।
सडक मार्ग खुलेसँगै मोटरसाइकल र गाडीमार्फत साहसिक पर्यटन गर्नेहरूका लागि जलजला अहिले आकर्षक गन्तव्य बन्दै गएको छ । गोठबास जस्ता नवीनतम प्रयासले यो क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया