निसेलढोर जोड्ने सडक कालोपत्र, पर्यटकीय क्षेत्रमा सहज पहुँच

निसेलढोर जोड्ने सडक कालोपत्र, पर्यटकीय क्षेत्रमा सहज पहुँच


बागलुङ ।

बागलुङको निसीखोला गाउँपालिका–५ स्थित पर्यटकीय क्षेत्र निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाको रु ७२ लाखको लगानीमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो ।

गण्डकी प्रदेश सरकारको रु ६० लाख र गाउँपालिकाको रु १२ लाखमा सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र ग्राभेलिङ गर्ने काम सम्पन्न भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले बताउनुभयो । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ ।यो सडक छ वर्षअघि मात्र मोटरबाटोले जोडिएको थियो । यसअघि साँघुरो र अप्ठ्यारो सडकका कारण बर्खायाममा पाँच महिनासम्म यातायात ठप्प हुन्थ्यो । एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सले गत कात्तिक १२ गते काम सुरु गरेको थियो र वैशाख अन्तिम सातामै सकाएको थियो ।

स्थानीय सम्झाना रसाइलीले भन्नुभयो, “बर्खामा गाडी नचल्ने भएकाले जेठमै पाँच महिनाको खाद्यान्न ढुवानी गर्नुपर्थ्यो । अब यो समस्या हट्ने भयो । सडक फराकिलो र राम्रो बनेको छ ।”अर्का स्थानीय कुमबहादुर घर्तीले बताएअनुसार निसेलढोरमा आलु, स्याउ र सिमी जस्ता कृषि उत्पादन राम्रो हुन्छ तर सडक खराबीले बजारीकरणमा समस्या थियो । अब सहज हुने अपेक्षा गरिएको छ ।

एक दशकअघिसम्म बर्खायाममा मात्र बस्ने स्थानीय अहिले वर्षभरि बस्न थालेका छन् । बर्खामा ३०० र हिउँदमा १५० घरपरिवार यहाँ बसोबास गर्छन् ।सडक स्तरोन्नतिपछि ढोरपाटन हुँदै निसेलढोरमा पर्यटक आवागमन बढ्ने र स्थानीयको जीवनस्तर उकासिने अपेक्षा गरिएको छ ।