काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालले बोलेका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन् ।
एमाले प्रमुख सचेतक महरले प्रतिनिधिसभा निमामावलीको नियम ५६ मा रहेका व्यवस्थाबारे सभामुखबाट गलत व्याख्या भएको बताएका छन् ।
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिन अगाडि प्रश्न लिने व्यवस्था कहीँ पनि गरिएको छैन भनेर रोष्ट्रमबाट भन्नुभयो । त्यो प्रतिनिधिसभा नियमावली विपरीत छ । म यसमा निमापत्ति गर्न चाहन्छु र स्वयम सभामुखको त्यो शब्द संसदीय रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु,’ महरले भने ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्नका लागि तीन दिन अगावै प्रश्न सभामुखलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण विपक्षी सांसदहरुले राखेका थिए । तर सभामुख अर्यालले तीन दिन अगावै प्रश्न टिपाउने प्रावधान नरहेको भनेका थिए ।
यस्तै प्रधानमन्त्री शाहले छिमेकी मुलुक भारतसँगको सीमाका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा “नेपालले पनि भारतको जमिन मिचेको रहेछ” भनेर दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
‘सार्वभौम देशको प्रधानमन्त्रीले संसद्मा उभिएर कुनै अर्को देशको जमिन मिचेको भनेर स्वीकार गर्ने कुराले विश्व समुदायमा कस्तो सन्देश जाला ?,’ उनले भने, ‘त्यसैले यो गम्भीर अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् ।’

प्रतिक्रिया