काठमाडौं । प्रायः सार्वजनिक अभिव्यक्ति नदिने र प्रश्नको सामना पनि नगर्ने प्रधानमन्त्री बालेन्द्र शाह बालेनको खोजी गत वैशाख २८ गते सुरु भएको संसद्को जारी अधिवेशनमा भइरहेको थियो । उनले गर्ने अनपेक्षित गतिविधिले उनी आलोचित बन्दै गइरहेका छन् । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरिरहेका बेला वैशाख २८ गते उनी संसद्को संयुक्त बैठक छाडेर बीचमै हिँडेका थिए । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुँदा उनी संसद्मा आएनन् । विपक्षीले संसद्मा प्रधानमन्त्रीको खोजी गरी प्रतिनिधिसभा बैठक अवरोध गरिरहे ।
वैशाख २८ पछि संसद्मा अनुपस्थित रहेका प्रधानमन्त्री बालेन यही १५ जेठमा संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट पेस गर्दा उपस्थित भए । त्यसपछि उनी आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरप्राइज रूपमा बैठकमा आए । र, सांसदहरूका प्रश्नको जवाफ दिने बताए । उनले सांसदहरूले दलगत रूपमा पाएको समयमा प्रधानमन्त्री बालेनलाई प्रत्यक्ष प्रश्न सोधे, उनले रोस्ट्रमबाटै प्रत्यक्ष जवाफ दिए ।
यहीबीचमा सांसदहरूले नेपाल र भारतबीचको सीमा विवादबारे राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले दिएको एक अभिव्यक्तिले तीव्र प्रतिक्रिया जन्माएको छ । चैत १२ गते प्रधानमन्त्रीको शपथ लिएका बालेनको संसद्मा पहिलो अभिव्यक्ति नै विवादित बन्न पुगेको छ । र यो विवाद देशको सीमाभित्र सीमित नभई भारतसम्म पुगेको छ ।
प्रधानमन्त्री बालेनले नेपाली भूमि लिपुलेक, लिम्पिया धुरा र कालापानीको विवाद कसरी समाधान गर्ने भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिए । उनले संसद्मा भने, ‘मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र नेपाली भूमि मिचेको होइन रहेछ, नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको रहेछ ।’
नेपालका हालसम्मका कुनै पनि प्रधानमन्त्रीले भारतीय भूमि नेपालले मिचेको स्वीकारेका थिएनन् । बालेनले यस्तो गम्भिर स्वीकारोक्ति, त्यो पनि संसद्को रोस्ट्रमबाट गरेका छन् । यसरी बालेनले अनपेक्षित अभिव्यक्ति दिएपछि त्यसबारे तीव्र तरंग उत्पन्न भएको छ । संसद्मै कांग्रेस र नेकपालगायतका विपक्षी दलहरूले यो विषयमा स्पष्ट पार्न वा सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
तर, यो विषय राजनीतिक क्षेत्रमा मात्र होइन, कूटनीतिक क्षेत्रमा पनि तरंगित भएको छ । भारतका लागि राजदूत रही सकेका निलाम्बर आचार्यदेखि दीपकुमार उपाध्यायसम्मले प्रधानमन्त्रीको यो अभिव्यक्तिको आलोचना गरेका छन् । उनीहरूले भारतले पनि दाबी नगरेको विषय नेपालका प्रधानमन्त्रीले स्वीकारेको भन्दै आश्चार्य प्रकट गरेका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले विवाद झन् गिजोलिने प्रतिक्रिया दिएका छन् । उनले कतै पनि नेपालले भारतीय भूमि नमिचेको बताएका छन् ।

प्रतिक्रिया