एजेन्सी । लेबनानले इजरायल र सशस्त्र समूह हिजबुल्लाहबीच आंशिक युद्धविरामको घोषणा गरेको छ। यो घोषणालाई सीमित रूपमा तनाव न्यूनीकरणको प्रयासका रूपमा हेरिएको छ।
वासिङ्टनस्थित लेबनानी दूतावासका अनुसार, यो सम्झौताले मुलुकमा जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य भने गर्ने छैन। सम्झौता अनुसार इजरायलले राजधानी बेरुत र हिजबुल्लाहको नियन्त्रणमा रहेका त्यसका वरपरका उपनगरहरूमा आक्रमण रोक्नेछ भने, अर्कोतर्फ इरान समर्थित समूह हिजबुल्लाहले पनि इजरायलमाथिका आक्रमणहरू स्थगित गर्नेछ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सबैभन्दा पहिले यस सम्झौताको घोषणा गरेका थिए। ट्रम्पका अनुसार हिजबुल्लाहले मध्यस्थकर्ताहरू मार्फत इजरायलमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको छ।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बेरुतमा आक्रमणको तयारी गरिरहेका आफ्ना सैनिकहरूलाई पछि हटाउन सहमत भएको समेत दाबी गरे। तर, ट्रम्पको घोषणा लगत्तै प्रधानमन्त्री नेतन्याहूले दक्षिणी लेबनानमा इजरायलको सैन्य अपरेसन जारी रहने प्रष्ट पारेका छन्। इजरायली स्थल सेना हाल जाहरानी नदीतर्फ अघि बढिरहेको छ, जुन विगत २५ वर्षमा लेबनानभित्र इजरायलको सबैभन्दा ठूलो घुसपैठ हो।
सम्झौताको घोषणाका बाबजुद मार्च महिनामा इजरायलले अतिक्रमण गरेको दक्षिणी लेबनानमा सोमबार साँझ पनि भिडन्त जारी रह्यो। मंगलबार बिहानै इजरायली सेनाले लेबनानतर्फबाट उत्तरी इजरायलमा प्रवेश गरेका दुईवटा क्षेप्यास्त्र लाई आकाशमै नष्ट गरेको जनाएको छ। यस घटनामा कुनै मानवीय क्षतिको विवरण आएको छैन।
हिजबुल्लाहका सांसद हसन फद्ल्लाहले इजरायली सेना फिर्ता हुनुअघि सम्पूर्ण लेबनानभर पूर्ण युद्धविराम हुनुपर्नेमा जोड दिएका छन्। यद्यपि, उनले हिजबुल्लाहले इजरायली भूमिमा आफ्ना आक्रमणहरू पूर्ण रूपमा रोक्ने वा नरोक्ने भन्नेबारे स्पष्ट खुलाएका छैनन्।
लेबनानले बुधबार वासिङ्टनमा इजरायलसँग हुने वार्तामा यस आंशिक युद्धविरामको दायरालाई थप विस्तार गर्ने प्रयास गर्ने जनाएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट सुरु भएको यो तीन महिना लामो युद्ध अन्त्यका लागि यस वार्ताले बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ। शान्ति वार्ताको प्रारम्भिक रूपरेखामा सहमति जुट्न नसक्दा विगत केही हप्तादेखि यो प्रक्रिया अन्योलमा परेको थियो।

प्रतिक्रिया