प्रधानमन्त्रीले लिखित धारणा दिनुपर्ने विपक्षीको अडान, रविसँगको छलफल निष्कर्षविहीन

प्रधानमन्त्रीले लिखित धारणा दिनुपर्ने विपक्षीको अडान, रविसँगको छलफल निष्कर्षविहीन


काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।

बुधबार सिंहदरबारमा भएको छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका नेता वर्षमान पुनलगायत विपक्षी दलका प्रमुख सचेतकहरू सहभागी थिए ।

छलफलका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा बोल्ने प्रस्ताव राखेका थिए । तर, विपक्षी दलहरूले प्रधानमन्त्री स्वयंको धारणा लिखित रूपमा आउनुपर्ने अडान राखे ।

विपक्षी नेताहरूले प्रधानमन्त्रीले लिखित रूपमा आफ्नो धारणा उपलब्ध गराएमा उक्त वक्तव्य जुनसुकै मन्त्रीले संसद्‌मा पढेर सुनाउन सक्ने बताएका थिए । उनीहरूले यसलाई सहमतिका लागि लचक प्रस्तावका रूपमा अघि सारेका थिए ।

तर, प्रधानमन्त्रीको लिखित धारणा आवश्यक नरहेको भन्दै सभापति लामिछाने उक्त प्रस्तावमा सहमत नभएपछि छलफल निष्कर्षमा पुग्न नसकेको एक नेताले जानकारी दिए ।

रवि लामिछानेसँगको संवादपछि विपक्षी दलका सांसदहरू आगामी रणनीति तय गर्न छुट्टै छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदनमा विरोध जनाइरहेका छन् । उनीहरूले यो विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने र संसद्मा जवाफ दिनुपर्ने बताइरहेका छन् । तर सत्तापक्ष भने त्यसका लागि तयार भएको छैन ।