ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा


काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर कार्यक्रम सञ्चालन गरिने बताइन् ।

उनका अनुसार उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ । साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।

उनले भनिन्,‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर कार्यक्रम सञ्चालनगरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निशुल्क उपलब्ध गाराइनेछ । ७५ वर्ष पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त आपाङ्गता भएका महानगरबासीहरुलाई पोषण भत्ता उपलब्ध गराइने छ ।’

महानगरले हाल सञ्चालनमा रहेको ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी र दिगो बनाउने लक्ष्यसहित संस्थागत गर्ने नीति पनि लिएको छ । यस कार्यक्रममार्फत प्रत्येक वडाको आवश्यकता र विशेषता अनुसार नमुना योजना कार्यान्वयन गरिने महानगरको भनाइ छ ।

‘एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपन सुनिश्चित हुनेगरी यस कार्यक्रमलाई संस्थागत गरिने छ,’उनले भनिन् ।

महानगरले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राखेको जनाएको छ ।