काठमाडौं । नेपालमा यस वर्ष मनसुन आवागमन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सरदरमा जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष हालसम्म प्रवेश गरेको छैन ।
विज्ञप्ति जारी गर्दै विभागले भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन केही दिन पर सर्न सक्ने जनाएको हो ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायम रहेकाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार प्रशान्त महासागर क्षेत्रमा एलनिनो विकसित भइसकेको छ र यसको प्रभाव क्रमशः बलियो बन्दै गएको छ ।
एलनिनोका कारण दक्षिण एसियाली मनसुनी प्रणाली प्रभावित हुने तथा नेपालमा मनसुन कमजोर बन्न सक्ने सम्भावना देखिएको छ । यही कारणले मनसुन आगमनमा ढिलाइ हुन सक्ने विभागको निष्कर्ष छ ।
विगतका वर्षहरूमा पनि एलनिनोको प्रभावका कारण मनसुन ढिलो प्रवेश गरेको विभागले जनाएको छ ।
सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा मनसुन सरदर मितिभन्दा ढिलो नेपाल प्रवेश गरेको थियो । ती वर्षहरूमा मनसुन जुन १४ देखि जुन २७ सम्मका विभिन्न मितिमा भित्रिएको तथ्यांक विभागसँग रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । विभागले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने भएकाले नागरिकलाई आधिकारिक मौसम बुलेटिन र सूचनामा ध्यान दिन आग्रह गरेको छ ।
मनसुन ढिलो भित्रिने सम्भावनासँगै कृषक, जलस्रोत तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूले आवश्यक तयारी र सतर्कता अपनाउनुपर्ने देखिएको छ । विभागले आगामी दिनमा मनसुनी गतिविधिबारे थप स्पष्ट जानकारी उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया