ट्युनिसियाको पोस्टमा जापानको गोलको वर्षा

ट्युनिसियाको पोस्टमा जापानको गोलको वर्षा


काठमाडौं । फिफा विश्वकप २०२६ को समूह एफमा जापानले ट्युनिसियालाई पराजित गरेको छ । मेक्सिकोको ग्वाडालुपेस्थित एस्तादियो बीबीभिएमा आइतबार भएको खेलमा जापानले ट्युनिसियालाई ४–० को गोलअन्तरले पराजित गरेको हो । यो जितसँगै जापान अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो भएको छ ।

जापान चार अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सको बराबरीमा पुगेको छ। पहिलो खेलमा जापानले नेदरल्यान्डस्‌सँग बराबरी खेलेको थियो । यो हारसँगै ट्युनिसिया एक खेलअगावै समूह चरणमा रोकिएको छ । आफ्नो अन्तिम खेलमा असार १२ गते ट्युनिसया र नेदरल्यान्ड्स आमने सामने हुनेछन् । सोही दिन जापान र स्विडेन पनि आमने सामने हुनेछन् । जापानका लागि आयासे उएडाले २ तथा दाइची कामाडा र जुन्या इटोले १–१ गोल गरे । चौथो मिनेटमा पहिलो गोलका लागि जापानले उत्कृष्ट समन्वय गर्दै दायाँबाट बायाँतर्फ सुन्दर आक्रमण बुनेको थियो। त्यसपछि केइतो नाकामुराले तीव्र क्रस फिर्ता पास दिए, जसलाई मिडफिल्डर दाइची कामाडाले नजिकबाट गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए ।
३१ औं मिनेमा दोस्रो गोलको क्रममा स्ट्राइकर आयासे उएडालाई ट्युनिसियाको पेनाल्टी क्षेत्रको कर्नरसम्म बल लिएर जान पर्याप्त ठाउँ दिइयो, जहाँ ट्युनिसियाली डिफेन्डरूहरू पछाडि हटेका थिए। त्यसपछि फेयेनोर्डका खेलाडी उएडाले सेन्टर–ब्याक मोन्तास्सार ताल्बीको खुट्टाबीचबाट उत्कृष्ट प्रहार गर्दै बललाई फार कर्नरमा गोलमा परिणत गरे। तेस्रो गोलका लागि ६९ औँ मिनेटमा दाइची कामाडाले पहिलो टचमै उत्कृष्ट ‘अराउन्ड द कर्नर’ पास निकाल्दै ट्युनिसियाको सम्पूर्ण डिफेन्सलाई खेलबाट बाहिर पारे। त्यसपछि जुन्या इटो तीव्र गतिमा बलतर्फ दौडिए र गोलकिपर आयमेन दाहमेनलाई छल्दै जमिनमै सटिक प्रहार गर्दै गोल गरे । खेलको ८३ औं मिनेटमा उएडाल आफ्नो दोस्रो र जापानको लागि चौथो गोल गरे। काइशु सानोले टाढाको पोस्टतर्फ उत्कृष्ट क्रस उठाएपछि आयासे उएडाले बललाई हेडमार्फत फर्काउँदै फारकर्नरतर्फ पठाए। गोलकिपर र गोललाइन कभर गरिरहेका २ डिफेन्डरलाई समेत माथिबाट छल्दैँ बललाई गोलमा परिणत गरे ।