‘रास्वपा र माओवादीको राजनीतिक पृष्ठभूमि फरक भए पनि सुशासनको मुद्दामा समानता छ’

‘रास्वपा र माओवादीको राजनीतिक पृष्ठभूमि फरक भए पनि सुशासनको मुद्दामा समानता छ’


चितवन । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यका एजेन्डामा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच समान धारणा रहेको बताएका छन् । उनले लोकतन्त्र र गणतन्त्रप्रति स्पष्ट दृष्टिकोणका साथ रास्वपा अघि बढ्नुपर्ने सुझाव पनि दिएका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिए । उनले प्रचण्डको सन्देश सुनाउँदै चितवनस्थित उनको गृहजिल्लामा आयोजित महाधिवेशनमा सहभागी रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकलाई स्वागत गरे ।

पुनले नेपाल लामो राजनीतिक संघर्ष र बलिदानको जगमा लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उल्लेख गर्दै महाधिवेशनबाट चयन हुने नीति र नेतृत्वले राष्ट्रिय राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने बताए ।

उनले रास्वपा र माओवादी केन्द्रको राजनीतिक पृष्ठभूमि फरक भए पनि सुशासनको मुद्दामा समानता रहेको उल्लेख गरे ।

“यसअघि पनि सुशासनका विषयमा हामीले सहकार्य गरेका थियौँ । आज पनि पारदर्शिता, सुशासन, भ्रष्टाचार अन्त्य र राज्यमा थिति बसाल्ने विषयमा हामी एकै ठाउँमा छौँ,” उनले भने ।

यद्यपि, उनले सुशासनको अभियान विधि र कानुनअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । रास्वपाका केही नीतिगत र व्यवहारगत विषयमा आफूलाई आशंका रहेको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रप्रति पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने सुझाव दिए ।

“यो महाधिवेशनले रास्वपालाई वैचारिक र संगठनात्मक रूपमा अझ स्पष्ट बनाउने विश्वास लिएको छु । लोकतन्त्रमा सरकार र संख्या स्थायी हुँदैनन्, तर लोकतन्त्र आफैं स्थायी मूल्य हो,” उनले भने ।

पुनले नयाँ पुस्ताको राजनीतिक सहभागिता र नयाँ राजनीतिक शक्तिको उदयले नेपाली जनतामा आशा र उत्साह पैदा गरेको उल्लेख गरे । युवा अवस्थामा परिवर्तनप्रतिको उत्साहलाई सही दिशा दिँदै सफलतामा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।