रास्वपालाई प्रदीप ज्ञवालीको सुझाव – गाडी चलाउँदा एक्सिलेटर मात्रै होइन, ब्रेक पनि महत्त्वपूर्ण हुन्छ

रास्वपालाई प्रदीप ज्ञवालीको सुझाव – गाडी चलाउँदा एक्सिलेटर मात्रै होइन, ब्रेक पनि महत्त्वपूर्ण हुन्छ


चितवन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त असाधारण जनादेशको सदुपयोग गर्दै लोकतन्त्र सुरक्षित हुने विश्वास जनतामा दिलाउनुपर्ने बताएका छन् । उनले महाधिवेशनले रास्वपाको नीति, विचार र नेतृत्वलाई स्पष्ट दिशा दिने विश्वास व्यक्त गरे ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले महाधिवेशन सफलताको शुभकामना दिँदै राजनीतिक दलका लागि महाधिवेशनले मुख्यतः दुई विषय– नीति र नेतृत्व–को टुंगो लगाउने बताए ।

उनले हल्का व्यंग्य गर्दै सभापति रवि लामिछाने पुनः सभापति भइसकेजस्तै र बालेन्द्र (बालेन) शाह वरिष्ठ नेताजस्तै देखिएको टिप्पणी गर्दै दुवैलाई बधाईसमेत दिए ।

ज्ञवालीले महाधिवेशनपछि रास्वपा राष्ट्रिय राजनीतिमा कुन वैचारिक धरातलमा उभिने भन्ने विषय स्पष्ट हुनुपर्ने बताए ।

“रास्वपा दक्षिणपन्थी, वामपन्थी वा मध्यमार्गी जुनसुकै धारमा उभिए पनि श्रमजीवी र गरिखाने जनताको पक्षमा उभिनुपर्छ,” उनले भने ।

उनले रास्वपाले छोटो समयमै ठूलो जनसमर्थन र युवाको आकर्षण हासिल गरेको उल्लेख गर्दै यसबाट अन्य राजनीतिक दलले पनि सिक्नुपर्ने धारणा राखे ।

“युवालाई राजनीतिसँग जोड्ने तपाईंहरूको शैलीबाट अरू दलले पनि सिक्नुपर्छ,” उनले भने ।

ज्ञवालीले जनादेश पाउनु मात्र पर्याप्त नहुने, त्यसको सही उपयोग गर्नु सबैभन्दा महत्त्वपूर्ण हुने बताए । उनले सन् १९३३ मा जर्मनीमा सत्तामा पुगेको नाजी पार्टी र सन् १९९४ मा नेल्सन मण्डेला नेतृत्वको दक्षिण अफ्रिकी पार्टीको उदाहरण दिँदै जनादेशको प्रयोगले राष्ट्रको भविष्य निर्धारण गर्ने उल्लेख गरे ।

“जनताको समृद्धि र राष्ट्रको विकास नै अन्तिम लक्ष्य हो । जनादेशको सदुपयोग पनि हुन सक्छ, दुरुपयोग पनि हुन सक्छ । त्यसैले हरेक पाइला सोचेर चाल्नुपर्छ,” उनले भने ।

ज्ञवालीले रास्वपाको प्रारम्भिक राजनीतिक गतिविधि, सभापति रवि लामिछानेको भारत भ्रमण तथा भू-राजनीतिसम्बन्धी अभिव्यक्तिप्रति पनि संकेत गर्दै नेपालजस्तो संवेदनशील मुलुकमा साना गल्ती वा एउटा अभिव्यक्तिले समेत गम्भीर असर पार्न सक्ने बताए ।

सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यासबारे टिप्पणी गर्दै उनले रास्वपाका केही प्रारम्भिक गतिविधि र प्रतिबद्धता वाचापत्रसँग मेल नखाने देखिएको उल्लेख गरे । यस्ता घटना अपवादमै सीमित हुनुपर्नेमा उनले जोड दिए ।

“नेपाली जनताले रास्वपाको हातमा लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति गर्न चाहन्छन् । गाडी चलाउँदा एक्सिलेटर मात्रै होइन, ब्रेक पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा ध्यानमा राख्नुपर्छ,” उनले भने ।