स्थानीय तह : एक अर्ब पाँच करोडभन्दा बढीको बजेट

स्थानीय तह : एक अर्ब पाँच करोडभन्दा बढीको बजेट


गौशाला (महोत्तरी), असार ८ गते । गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल एक अर्ब पाँच लाख एक हजारबराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको बजेटमा विकासनिर्माणसँगै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । आइतबार नगरपालिकाको १६ औँ नगर सभामा नगरप्रमुख डा. दीपेन्द्र महतोले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र समाजिक विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

नगरपालिकाले सङ्घीय सरकारबाट ससर्त, समानीकरण, विशेष र समपूरक अनुदान गरी जम्मा ५० करोड ५२ लाख, प्रदेश सरकारबाट ससर्त, समानीकरण, विशेष र समपूरक अनुदान गरी जम्मा दुई करोड २१ लाख १२ हजार, त्यसै गरी तिनै तहको राजस्व बाँडफाँटतर्फ २० करोड ४७ लाख १२ हजार र आन्तरिक स्रोतबाट २६ करोड ८४ लाख ७७ हजार गरी कुल जम्मा एक अर्ब पाँच लाख एक हजारको आय तथा व्ययको प्रक्षेपण गरिएको नगरप्रमुख डा. महतोले जनाउनुभयो । नगरप्रमुख डा. महतोले बजेटले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानमुखी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

उहाँले शिक्षा क्षेत्रमा गुणस्तर सुधार, विद्यालय व्यवस्थापन, शैक्षिक पहुँच विस्तार र आवश्यक पूर्वाधार विकासलाई जोड दिएको बताउँदै स्वास्थ्य क्षेत्रमा नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने नीति बजेटमा समेटिएको बताउनुभयो ।