काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन् ।
अध्यक्ष ओलीले फाँसीवादी प्रवृत्तिकाविरुद्ध मिल्न सक्ने सबै शक्ति मिलेर संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकतामा जोड दिँदै ती शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यतिबेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ?’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) देशव्यापीरुपमा फैलिएको, सुदृढ सङ्गठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नुछ, एकीकरण गर्नु आवश्यक छैन ।’
अध्यक्ष ओलीले एमालेको नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरूलाई ढोका खुला रहे पनि एकताको चरणमा अहिले आफूहरू नरहेको बताए ।

प्रतिक्रिया