काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य नबनाइने स्पष्ट गर्दै गल्तीवश सदस्यता स्वीकृत भएको पाइए तत्काल खारेज गरिने जनाएको छ ।
बुधबार जारी विज्ञप्तिमा रास्वपाले आफ्नो पहिलो महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरू सदस्य रहेको भन्ने विवरण सार्वजनिक भएपछि त्यसबारे स्पष्टीकरण दिएको हो ।
पार्टीले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी कानुन तथा पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै पार्टी सदस्य बन्न पाउने व्यवस्था रहेको उल्लेख गरेको छ । त्यसैले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सदस्य बनाउने वा राजनीतिक गतिविधिमा सदस्यका रूपमा संलग्न गराउने नीति, अभ्यास वा उद्देश्य पार्टीको नरहेको जनाएको छ ।
रास्वपाका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएको तथ्यांक अन्तिम रूपमा प्रमाणित सदस्यहरूको नभई डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदन (Self-declared application data) मा आधारित थियो । आवेदन दिने क्रममा जन्ममिति प्रविष्टिमा त्रुटि, विक्रम संवत् र ईस्वी संवत् मिति छनोटमा गल्ती तथा ‘करेन्ट डेट’ प्रयोग गरिएका कारण केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको पार्टीको भनाइ छ ।
हाल डिजिटल प्रणालीमा दर्ता भएका ५ लाख २३ हजार ४६६ सदस्यता आवेदनमध्ये ४ लाख १० हजार ११२ जनाको विवरण आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको र बाँकी आवेदन प्रमाणीकरणको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।
यस्ता त्रुटि दोहोरिन नदिन पार्टीले सदस्यता प्रणालीमा सुधारका लागि विभिन्न व्यवस्था लागू गर्ने निर्णय पनि गरेको छ । अब १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई प्रणालीले स्वतः पहिचान (Automatic Validation) गरी सदस्यता स्वीकृतिको प्रक्रियामा अघि बढ्न नदिने व्यवस्था गरिनेछ ।
त्यस्तै, प्रमाणीकरण भइसकेका सदस्यहरूको अभिलेख पनि पुनः परीक्षण (Re-validation) गरिने र प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका व्यक्तिको सदस्यता स्वीकृत भएको पाइए त्यस्तो सदस्यता तत्काल खारेज (Revoke) गरिने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया