खामेनीको ‘रगतको बदला’ लिने इरानको चेतावनी

खामेनीको ‘रगतको बदला’ लिने इरानको चेतावनी


काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ।इरानी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको विज्ञप्ति सार्वजनिक गर्दै खामेनीको मृत्युको बदला उनका हत्यारासँग लिइने उल्लेख गरेको जनाएका छन्।

सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत सार्वजनिक गरिएको सन्देशमा भनिएको छ, “अयातोल्लाह अली खामेनीको रगतको बदला निश्चित रूपमा उनका हत्यारासँग लिइनेछ।”इरानले अमेरिका र इजरायलमाथि गत फेब्रुअरी २८ मा भएको संयुक्त हवाई हमलाको आरोप लगाउँदै आएको छ। उक्त आक्रमणमा तत्कालीन सर्वोच्च नेता खामेनीसहित इरानका केही उच्च अधिकारी तथा परिवारका सदस्यहरूको मृत्यु भएको दाबी गरिएको छ।

बीबीसी फारसीका अनुसार खामेनीको अन्त्येष्टि कार्यक्रम जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना गरिनेछ। त्यस्तै इराकका बगदाद, काजमिन, करबला र नजफमा समेत शोक सभाहरू हुने बताइएको छ।

यसैबीच कतारको राजधानी दोहामा अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन्। क्षेत्रीय तनाव बढिरहेका बेला इरानको प्रतिशोधको चेतावनी र अमेरिका–इरान संवादलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।