पूर्वसांसद महतो र निलम्बित सांसद शर्मालाई ५ वर्ष जेल

पूर्वसांसद महतो र निलम्बित सांसद शर्मालाई ५ वर्ष जेल

थमन विक हत्या प्रकरणमा उच्च अदालतको फैसला


जनकपुरधाम । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विश्वकर्माको हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले निलम्बित सांसद अभिराम शर्मा र पूर्वसांसद लक्ष्मी महतो कोइरीसहित ६ जनालाई दोषी ठहर गर्दै जनही ५ वर्ष कैद सजाय सुनाएको छ।
महोत्तरी जिल्ला अदालतले सफाइ दिएका अभिराम शर्मा, लक्ष्मी महतो कोइरी र पवन कापरलाई समेत उच्च अदालतले दोषी ठहर गरेको हो। उच्च अदालतले जिल्ला अदालतको फैसला आंशिक रूपमा सदर र आंशिक रूपमा संशोधन गर्दै यस्तो निर्णय गरेको हो।
जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको हकमा भने उच्च अदालतले जन्मकैदको फैसला उल्ट्याएको छ। अदालतले उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी व्यवस्थाअनुसार जनही ५ वर्ष कैद हुने फैसला गरेको हो।
अदालतका अनुसार प्रतिवादीहरूले थमन विकमाथि प्रत्यक्ष प्रहार गरेको पुष्टि हुने ठोस प्रमाण नदेखिए पनि मुख्य अभियुक्तहरूको बयान, घटनाको अवस्था र अन्य प्रमाणका आधारमा उनीहरू हत्या गराउने कार्यमा संलग्न रहेको देखिएको छ।
यता, उच्च अदालतले प्रदीप साह माझी, सञ्जय कुमार साह र मोहन ठाकुरलाई भने जन्मकैदको सजाय यथावत् कायम गरेको छ। उनीहरूविरुद्ध किटानी जाहेरी, अनुसन्धानका क्रममा प्राप्त बयान, प्रत्यक्षदर्शीको विवरण तथा घटनासँग सम्बन्धित प्रमाण पर्याप्त रहेको अदालतको निष्कर्ष छ।
फैसलामा घटनास्थलमा खिचिएका तस्बिरहरूलाई समेत महत्वपूर्ण प्रमाणका रूपमा उल्लेख गरिएको छ। तस्बिरमा सञ्जय कुमार साहले थमन विकमाथि आक्रमण गरिरहेको देखिएको भन्दै अदालतले त्यसलाई प्रत्यक्ष प्रमाणका रूपमा स्वीकार गरेको हो।

२०७२ सालको मधेश आन्दोलनका क्रममा २५ भदौमा हेटौँडाबाट महोत्तरीको जलेश्वर पुगेका सशस्त्र प्रहरीका असई थमन विक आन्दोलनकारीको आक्रमणमा परेका थिए। जलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई एम्बुलेन्समार्फत जनकपुर ल्याउँदै गर्दा आन्दोलनकारीले एम्बुलेन्स रोकेर पुनः आक्रमण गरेका थिए। सोही घटनाका कारण उनको मृत्यु भएको थियो।

लामो समयदेखि चर्चामा रहेको उक्त मुद्दामा अढाइ वर्षसम्म ४९ पटक पेसी स्थगित भएको थियो। अन्ततः उच्च अदालत जनकपुरधामका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारिबाबु श्रेष्ठको संयुक्त इजलासले ५० औँ पेसीमा फैसला सुनाएको हो। फैसला सार्वजनिक भएसँगै मधेश आन्दोलनसँग जोडिएको यो चर्चित हत्या प्रकरणले नयाँ कानुनी मोड लिएको छ।