कर्णालीमा खस्यो यात्रुवाहक बस, एक जनाको शव भिरमा अड्किएको भेटियो

कर्णालीमा खस्यो यात्रुवाहक बस, एक जनाको शव भिरमा अड्किएको भेटियो


काठमाडौं । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक मिनीबस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा नजिक कर्णाली राजमार्गबाट करिब ४००–५०० मिटर तल कर्णाली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बिहीबार बिहान करिब साढे ११ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका एक युवकको शव नदी किनारको भिरमा अड्किएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । मृतकको पहिचान खुल्न भने बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकका अनुसार दुर्घटनास्थलमा उद्धार सामग्रीसहित ३५ जना प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्ताडाबाट समेत उद्धार टोली खटिएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ ।

दुर्घटनामा परेको बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त भइसकेको छैन । बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारण, बसमा सवार यात्रुको संख्या तथा अन्य क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।