इन्धन सस्तो भएपछि गाडी भाडा घट्यो

इन्धन सस्तो भएपछि गाडी भाडा घट्यो


काठमाडौं । इन्धनको मूल्यमा आएको गिरावटपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाएको छ ।

विभागले बिहीबार जारी गरेको सूचना अनुसार नयाँ भाडादर असार १८ गतेदेखि लागू हुनेछ । यो व्यवस्था दुई वा दुईभन्दा बढी प्रदेश जोड्ने राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू हुने जनाइएको छ ।

विभागका अनुसार पछिल्लो समय डिजेलको औसत खुद्रा मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसाबाट घटेर १९३ रुपैयाँ ८३ पैसामा झरेपछि भाडा पुनः समायोजन गरिएको हो ।

नयाँ समायोजनपछि यात्रुवाहक सवारीका साथै पहाडी र तराई दुवै क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा पनि समान रूपमा दुई प्रतिशतले घट्नेछ ।

विभागले यसअघि इन्धनको मूल्य बढ्दा यात्रुवाहक तथा मालवाहक सवारीको भाडा अधिकतम पाँच प्रतिशतसम्म वृद्धि गरेको थियो । तर, त्यतिबेला इन्धन मूल्यवृद्धिअनुसार पूर्ण रूपमा भाडा समायोजन नभएकाले अहिले मूल्य घटेको अवस्थालाई समेत मध्यनजर गर्दै दुई प्रतिशत भाडा कटौती गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।