बैतडी । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीमा दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् ।
सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि, केही प्रारम्भिक विवरणमा बस अझ तल खसेको उल्लेख भए पनि आधिकारिक रूपमा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने कार्य जारी छ ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन् ।
बस दुर्घटनाको कारण खुल्न सकेको छैन । यात्रुको संख्या, घाइतेहरूको अवस्था तथा अन्य विवरण संकलन भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया