काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र र संघीयताको विरोध गर्नु आफ्नो राजनीतिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई रोक्न खोजिए लाखौंको संख्यामा जेल जान तयार रहेको बताए ।
उनले भने ,‘यदि राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, राजावादी, हिन्दुवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं । लाखौंको संख्यामा जेल जान तयार छौं ।’
राणाले आफूहरू संवैधानिक राजतन्त्र, सनातन धर्म, किराँत र बौद्ध धर्मलाई समेट्ने हिन्दु अधिराज्य स्थापनाको लक्ष्यसहित नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको बताए ।
सरकारले नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै उनले यस्तो कानुन ल्याइए नेपाली जनता चुप लागेर नबस्ने दाबी गरे ।
दुर्गा प्रसाईं कार्यक्रममा अनुपस्थित रहेको विषयमा उनले कुनै मनमुटाव नरहेको स्पष्ट पारे । ‘उहाँ सुकुम्बासीहरूसँगको कार्यक्रममा जानुभएको हो । हामीबीच कुनै मतभेद छैन, एउटै एजेन्डामा छौं,’ उनले भने ।
राणाले विभिन्न राष्ट्रवादी र राजावादी शक्तिलाई एकताबद्ध गरेर नयाँ पार्टी गठनको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार पार्टी यसै महिनाभित्र दर्ता गरिनेछ भने अर्को महिनामा औपचारिक घोषणा सभा आयोजना गरिनेछ । स्थानीय तहको निर्वाचनमा बलियो रूपमा सहभागी हुने तयारीसमेत भइरहेको उनले बताए ।
प्रधानमन्त्रीले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरे आफूहरूले स्वागत गर्ने भए पनि वर्तमान सरकार संघीय गणतन्त्रकै पक्षमा रहेको देखिएको उनको टिप्पणी थियो ।
‘राजतन्त्र र हिन्दु राष्ट्र कायम गरिए हामी स्वागत गर्छौं । तर अहिले सरकारका गतिविधि हेर्दा त्यस्तो संकेत देखिँदैन,’ उनले भने ।
राणाले देशभरका राष्ट्रवादी, राजावादी र हिन्दुवादी नागरिकलाई निर्माणाधीन नयाँ पार्टीमा आबद्ध हुन आग्रह गर्दै यसलाई व्यक्तिको नभई विचारको पार्टी बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताए ।

प्रतिक्रिया