ओलीको ‘अहंकारपूर्ण’ शैलीले तत्काल एकता सम्भव भएन : प्रचण्ड

ओलीको ‘अहंकारपूर्ण’ शैलीले तत्काल एकता सम्भव भएन : प्रचण्ड


काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको व्यवहार कारण तत्काल एकता सम्भव नभएको बताएका छन्।
शनिबरा बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले एमालेसँग तत्काल एकताको सम्भावना पनि नरहेको बताए। एमाले अध्यक्ष ओलीको पछिल्लो समयको भाषा, व्यवहार र अहंकारी प्रवृत्तिका कारण तत्काल एकता सम्भव नभएको उनको भनाइ थियो। विगतको पार्टी एकता किन विफल भयो भन्ने विषयमा गम्भीर समीक्षा नगरी फेरि हतारमा एकता गरिए अर्को दुर्घटना दोहोरिन सक्ने पनि उनले बताए। विगतमा एकता गरेर पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रवृत्तिको समीक्षा नगरी अघि बढ्न नहुने उनको भनाइ थियो।
एमाले अध्यक्ष ओलीका पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले ‘उल्टो-उल्टो कुरा गर्ने’ र ‘अहंकारपूर्ण’ शैलीसँग तत्काल एकता सम्भव नरहेको बताए। उनले कार्यकर्तालाई एमालेसँग तत्काल एकता हुने भन्ने भ्रममा नपर्न आग्रह गरे।
यद्यपि, विचार मिल्ने दुई(तीन वटा साना राजनीतिक दलसँग भने छिट्टै पार्टी एकताको प्रक्रिया अघि बढ्ने उनले बताए। ती दलसँगको एकतामा कुनै अन्योल नरहेको उनको भनाइ थियो। दलका नाम भने खुलाएनन्।
संयोजक प्रचण्डले संसदमा भने सरकारका गलत नीति र निर्णयविरुद्ध अन्य दलसँग कार्यगत सहकार्य हुने बताए। उनले सरकारविरुद्धको सहकार्यलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उल्लेख गर्दै मुद्दाका आधारमा मात्रै सहकार्य गरिने बताए।