विश्वकपमा चम्किँदै युरोपेली क्लबको नजरमा परेका मोरक्कन स्टार बुआद्दी

विश्वकपमा चम्किँदै युरोपेली क्लबको नजरमा परेका मोरक्कन स्टार बुआद्दी


काठमाडौं । कतारमा भएको सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर विश्व फुटबलप्रेमीको मन जितेको मोरक्को अहिले फेरि विश्व मञ्चमा चम्किरहेको छ । तर, यसपटक टोलीको सफलतामा एउटा ठूलो फरक छ – १८ वर्षीय किशोर मिडफिल्डर अयुब बुआद्दीको उदय ।

विश्वकपको पहिलो खेलमा ब्राजिलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि बुआद्दी सामाजिक सञ्जालमा चर्चाको केन्द्र बने । उनले अनुभवी मिडफिल्डर कासेमिरो र ब्रुनो गिमारेसलाई समेत छायामा पार्ने प्रदर्शन गरे ।

गत सिजन प्रिमियर लिगमा खेलेका यी दुई खेलाडीविरुद्ध प्रभावशाली प्रदर्शन गरेपछि फ्रान्सेली क्लब लिलका मिडफिल्डर बुआद्दी युरोपका ठूला क्लबहरूको निगरानीमा परेका छन् ।

पूर्व मोरक्को अन्तर्राष्ट्रिय खेलाडी हसन काचलुलले बीबीसीसँग भने, “लिलका समर्थकले उनको स्तर पहिल्यै देखिसकेका छन् । उनी भविष्यका उत्कृष्ट प्रतिभामध्ये एक हुन् ।”

उनले थपे, “कासेमिरो, लुकास पाकेटा र ब्रुनो गिमारेसजस्ता खेलाडीविरुद्ध उनले केवल आफ्नो गुणस्तर मात्र होइन, व्यक्तित्व पनि देखाए । मैदानमा उनको आत्मविश्वास, प्रभाव र उपस्थितिले उनी दबाबमा अझ राम्रो खेल्ने खेलाडी भएको प्रमाणित गर्छ ।”

६ फिट १ इन्च अग्ला बुआद्दीमाथि म्यानचेस्टर सिटी, आर्सनल, रियल म्याड्रिड, बार्सिलोना र पेरिस सेन्ट-जर्मेन (पीएसजी)को चासो रहेको बताइएको छ ।

म्यानचेस्टर सिटीले हालै नटिङ्घम फरेस्टबाट इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी इलियट एन्डरसनलाई क्लब इतिहासकै कीर्तिमानी ११६ मिलियन पाउन्डमा अनुबन्ध गर्ने सहमति गरिसकेको छ । त्यससँगै बुआद्दीलाई पनि मिडफिल्ड सुदृढ बनाउन सम्भावित विकल्पका रूपमा हेरिएको छ ।

बीबीसीका स्रोतका अनुसार बुआद्दी सिटीको लक्ष्य सूचीमा छन् । काचलुल भन्छन्, “यदि खेलाडी आफैं जान चाहन्छ भने लिलले अन्ततः सबैभन्दा ठूलो प्रस्ताव स्वीकार गर्न सक्छ ।”

मोरक्काली फुटबल पत्रकार अमिन एल अम्री भन्छन्, “विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको खेलाडीमाथि ठूला क्लबहरूको नजर पर्नु स्वाभाविक हो । तर, उनी अझै १८ वर्षका मात्र भएकाले अहिलेको समय उनको विकासका लागि निकै संवेदनशील छ ।”

उनले थपे, “अहिले प्रिमियर लिगका क्लबहरूले अनुभवभन्दा पनि क्षमता, प्राविधिक गुण र शारीरिक सामर्थ्यलाई प्राथमिकता दिन थालेका छन् । बुआद्दीसँग यी सबै विशेषता छन् ।”

‘विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये एक बन्ने क्षमता’

फ्रान्सको सेनलिसमा जन्मिएका बुआद्दीले १६ वर्ष र ३ दिनको उमेरमै लिलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले क्लबका लागि ९६ खेल खेलिसकेका छन् ।

उनले गत मे महिनामात्र मोरक्कोको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । अहिलेको विश्वकपमा तीन खेल खेल्दै मोरक्कोलाई अन्तिम १६ मा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन् । अब मोरक्कोले शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिलविरुद्धको पहिलो खेलमा उनले ८७ पटक बल छोए भने ६० सफल पास पूरा गरे, जुन मोरक्कोका अन्य कुनै खेलाडीभन्दा बढी थियो ।

पत्रकार एल अम्री भन्छन्, “उनमा केवल मोरक्कोका लागि मात्र होइन, विश्व फुटबलकै उत्कृष्ट मिडफिल्डरमध्ये एक बन्ने क्षमता छ । तर त्यसका लागि उनी विनम्र रहनुपर्छ र निरन्तर मेहनत गर्नुपर्छ ।” उनका अनुसार बुआद्दीको खेल शैली पूर्व स्पेन तथा बार्सिलोनाका महान मिडफिल्डर सर्जियो बुस्केट्ससँग मिल्दोजुल्दो छ ।

“उनी अग्ला छन्, तर धेरै मांसल छैनन् । नम्बर ६ वा नम्बर ८ मा खेल्ने अधिकांश खेलाडी बलिया हुन्छन् । तर बुआद्दीको सबैभन्दा ठूलो विशेषता भनेको दबाबमा पनि शान्त रहनु हो । प्रेसिङ गर्दा पनि उनी धेरै फाउल गर्दैनन्, जसले उनलाई पूर्ण मिडफिल्डर बनाउँछ ।”

गत सिजन युरोपका शीर्ष पाँच लिगमा १८ वर्ष वा सोभन्दा कम उमेरका खेलाडीमध्ये बुआद्दीले सबैभन्दा धेरै २,३२९ मिनेट खेले, । ३० खेलमा सहभागिता जनाए । यो संख्या बार्सिलोनाका स्टार लामिन यामाल, वेर्डर ब्रेमेनका करिम कुलिबाली र वुल्भ्सका माटेउस मानेभन्दा पनि बढी हो ।

उनले आफ्नो उमेर समूहमा ५१ पटक बल पुनः जिते, ५९ ट्याकल, र २७ इन्टरसेप्सन गरे । यी तथ्यांकले उनको ऊर्जा, रक्षात्मक क्षमता र खेल बुझाइ स्पष्ट देखाउँछन् ।

लिलले बुआद्दीका लागि ६९ देखि ८६ मिलियन पाउन्डसम्मको मूल्य निर्धारण गरेको बताइएको छ । अहिलेको बजारमा उत्कृष्ट मिडफिल्डरका लागि यस्तो मूल्य सामान्य बन्दै गएको छ । यसबीच म्यानचेस्टर सिटीका स्टार रोड्रीको भविष्यबारे पनि प्रश्न उठिरहेको छ, किनकि उनको सम्झौतामा एक वर्ष मात्र बाँकी छ । त्यसैले बुआद्दीलाई भविष्यका विकल्पका रूपमा हेरिएको छ ।

एल अम्रीका अनुसार बुआद्दीलाई मोरक्कोमा केवल उत्कृष्ट खेलाडीका रूपमा मात्र होइन, असल व्यक्तिका रूपमा पनि हेरिन्छ । “मोरक्कोमा सबैले उनलाई मन पराउँछन् । मैदानबाहिर उनी हामीले भन्ने भाषामा ‘आदर्श ज्वाइँ’ जस्तै छन् ।”

उनले गणित र भौतिकशास्त्रमा उच्च माध्यमिक शिक्षा पूरा गरेका छन्, जसले उनको बौद्धिक क्षमता पनि देखाउँछ ।

एल अम्री भन्छन्, “उनी उत्कृष्ट फुटबलर मात्र होइन, उत्कृष्ट मानिस बन्ने सबै गुण भएका खेलाडी हुन् । त्यसैले मोरक्कोका मानिसहरू उनीसँग सजिलै आफूलाई जोडिएको महसुस गर्छन् ।”

बुआद्दीको अर्को ठूलो विशेषता भनेको उनी डिफेन्सिभ मिडफिल्डर (नम्बर ६) र बक्स-टु-बक्स मिडफिल्डर (नम्बर ८) दुवै भूमिकामा समान प्रभावकारी रूपमा खेल्न सक्छन् । यही बहुआयामिक क्षमताले उनलाई युरोपका शीर्ष क्लबहरूको आकर्षणको केन्द्र बनाएको छ ।