काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ र २४ को घटनापछि आफूहरू मारिने अवस्थामा पुगेको बताएका छन् । विश्वको भूराजनीतिले आफूहरूलाई प्रतिक्रियावादीहरूको हातबाट जोगाएको उनको विश्लेषण छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसबेला कसरी बाँचियो भनेर अहिले पनि सोचमा पर्ने गरेको उल्लेख गरे ।
प्रचण्डले भने, ‘तपाईँहरूले यसरी हेर्नुभएको छ कि छैन थाहा छैन । हामी त किचिक्क परेर त मिचिने र मारिने ठाउँमा थियौँ नि । प्रतिक्रियावादीले चाहेको भए त एकैछिनमा … हुने ठाउँमा थियौँ, तर हामी बचियो फेरि ।’
२३-२४ भदौपछि आफूहरू निरीह अवस्थामा पुगेको सम्झिँदै उनले त्यसबेला पार्टीका कार्यकर्ताले नभएर भू-राजनीतिले बताएको उल्लेख गरे ।
उनले भने, ‘दुई दिन त तपाईंहरुलाई पनि हाम्रा नेताहरू जीवितै पो छन् कि छैनन् कि कहाँ छन्, गिरफ्तार भएका हुन् कि मारिई पो सके कि भन्या जस्तो स्थिति थियो, सम्झिनुभाछ ? हामी बच्यौँ कसरी ? मैले भन्ने गर्छु कहिलेकाहीँ, बच्यौँ कसरी ? हामीलाई हाम्रा पार्टीका नेता-कार्यकर्ताले गएर जुलुस निकालेर हाम्रा नेता कहाँ छन् भनेर बचाएको होइन, बचाउन सक्ने स्थिति पनि थिएन । हाम्रा लडाकुहरू, युवाहरू गएर बचाएको पनि होइन । भनेपछि हामीलाई निरीह पनि विश्वको भूराजनीतिक संघर्षले बनाएछ। हामी बच्न पनि भूराजनीतिक घर्षण, भूराजनीतिक शक्ति केन्द्रहरूको ‘कोलुजन एण्ड कन्टेन्सन’ भन्छ अङ्ग्रेजीमा तपाईँहरूले सुन्नुहोला, उनीहरूकै एकता र संघर्षले गर्दा हामी बचिएछ ।’
२६ गते फेरि तिनै २४ गते विध्वंस गर्नेहरूले नै आफू र माधव नेपाललाई राष्ट्रपति कार्यालयमा बोलाएको प्रचण्डले सम्झिए ।
‘लौ के गर्ने हो भनेर सल्लाह गर्ने ठाउँमा पुग्यो २६ गते राति फेरि, यो पनि बडो अनौठो । हामीले त सोचेकै थिएनौँ हामीलाई बोलाउलान् प्रधानसेनापतिले अनि राष्ट्रपतिले, हाम्रो सुझाव लेलान् भन्ने सोचेको त थिएनौँ, तर भयो ।’

प्रतिक्रिया