काठमाडौं ।बाल्यकालमा कार्टुन हेर्ने साथीहरूका बीच खेलकुदमा रमाउने एर्लिङ हालान्डले मात्र पाँच वर्षको उमेरमा विश्व रेकर्ड कायम गरेका थिए । सन् २००६ मा १।६३ मिटरको स्ट्यान्डिङ जम्प गर्दै उनले राखेको कीर्तिमान २० वर्ष बितिसक्दा पनि कसैले तोड्न सकेको छैन । अहिले विश्वकपमा सात गोल गर्दै गोल्डेन बुटको दौडमा रहेका हालान्डले नर्वेलाई क्वार्टरफाइनलसम्म पुर्याउने सम्भावना जीवित राखेका छन् । यदि नर्वेले अघि बढेमा २८ वर्षपछि विश्वकपमा इतिहास रच्ने छ भने ब्राजिलसँगको अपराजित विरासत पनि जोगिने छ ।
१५ वर्षको उमेरमा उनले शिक्षकलाई भनेका थिए, “म पढ्दिनँ, फुटबलमा राम्रो गर्छु ।” शिक्षकले चिने नै नसकेको अवस्थामा उनले फुटबल यात्रा रोजे र अहिले विश्व फुटबलको सर्वोत्कृष्ट स्ट्राइकर बनेका छन् ।
बेलायतमा सन् २००० मा जन्मिएका हालान्ड तीन वर्षको उमेरमा नर्वेको बार्यनमा सरे । बुवा अल्फ(इन्जे हालान्ड म्यानचेस्टर सिटीका पूर्वखेलाडी थिए । बुवाले कुनै दबाब नदिई मनोरञ्जनका लागि खेल्न छाडे । १५ वर्षमै उनी १८ वर्षमुनिको टोलीमा पुगे । सन् २०१७ मा मोल्डे क्लबले अनुबन्ध गरेपछि उनको करियर उकालो लाग्यो । २०१९ मा यू-२० विश्वकपमा होन्डुरसविरुद्ध एकै खेलमा नौ गोल गरेर उनले विश्व ध्यान खिचे । त्यसपछि आरबी साल्जवर्ग, बोर्बोसिया डर्टमन्ड हुँदै सन् २०२२ मा म्यानचेस्टर सिटी गए । सिटीका लागि १९६ खेलमा १६० गोल गरेका उनले च्याम्पियन्स लिग जितिसकेका छन् । नर्वेका लागि ५४ खेलमा ६२ गोलको कीर्तिमान छ ।
हालान्डको सफलताको रहस्य उनको अनुशासनमा छ । उनी दैनिक ६ हजार क्यालोरी खाना खान्छन् । फुर्सदमा जंगल गएर दाउरा चिर्न र साइक्लिङ गर्न रुचाउँछन् । “९० मिनेट खेलपछि पनि शरीरलाई सक्रिय राख्न यस्ता गतिविधि जरुरी छन्,” उनी भन्छन् । यसले मांसपेशी तन्काउन, एकाग्रता बढाउन र फिटनेस कायम राख्न मद्दत गर्छ । देब्रे खुट्टा मुख्य हतियार भए पनि दाहिने खुट्टा र हेडरमा पनि उत्तिकै खप्पिस हालान्डले टिमसँगको तालमेल सुधार्दै लगेका छन् । विश्वकप उपाधि नर्वेका लागि चुनौतीपूर्ण छ तर गोलकर्ताको सूचीमा हालान्डको नाम अग्रस्थानमा रहने पक्का छ ।

प्रतिक्रिया