एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा


काठमाडौँ । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे। दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो। योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ।
पहिलो हाफमा फ्रान्सले पूर्ण दबाब बनाए पनि गोल गर्न सकेको थिएन। खेलको २९औँ मिनेटमा फ्रान्सले पेनाल्टीको सुवर्ण अवसर पाएको थियो। मोरोक्कोका नुसाइर माजरावीले एम्बाप्पेलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा एम्बाप्पे आफैँले प्रहार गरेका थिए, तर मोरोक्कोका गोलकिपर बोनोले उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई अग्रता लिनबाट रोकेका थिए।
दोस्रो हाफको ६०औँ मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए। यो गोलसँगै एम्बाप्पे यस विश्वकपमा ८ गोल गर्दै लियोनेल मेस्सीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। त्यसको ६ मिनेट लगतै ६६औँ मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

फ्रान्सका लागि जितको खुसीबिच एम्बाप्पेको चोटले भने चिन्ता थपेको छ। ७८औँ मिनेटमा एम्बाप्पे कुनै विपक्षी खेलाडीको ट्याकल बिना नै अचानक मैदानमा लडेका थिए। उनले खेल जारी राख्न नसकेपछि ७८औँ मिनेटमा मैदानबाट बाहिरिए। उनको स्थानमा जीन–फिलिप माटेटा मैदान प्रवेश गरेका थिए। सेमिफाइनल अघि एम्बाप्पेको यो चोट ठुलै भएमा फ्रान्सका लागि महँगो सावित हुन सक्ने छ।
गत विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरोक्को यसपटक क्वाटरफाइनलबाटै बाहिरिएको छ। खेलको अन्तिम समयमा मोरोक्कोले केही राम्रा अवसर सिर्जना गरे पनि फ्रान्सेली रक्षापङ्क्ति र गोलकिपर माइक मेग्नानलाई उछिन्न सकेन। मोरोक्कोका लागि अचराफ हाकिमीले गरेका केही प्रयासहरू खेर गएका थिए।