काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै राइड सेयरिङ सेवामा आबद्ध युवाहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले राइड सेयरिङ सेवामा आबद्ध गणेश नेपालीले यात्रु पुर्याएपछि त्रिपुरेश्वरमा मोटरसाइकल पार्क गरेर राहदानीसम्बन्धी कामका लागि जाँदा महानगरपालिकाले ह्विल लक लगाएको र त्यसपछि मानसिक तनावमा परेर आत्मदाह प्रयास गरेको बताइन् ।
‘राइड सेयरिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पु¥याएपछि आफ्नो राहदानीसम्बन्धी कामका लागि मोटरसाइकल पार्क गरी कार्यालय जाँदा महानगरपालिकाले सवारीमा ह्विल लक लगाएको रहेछ,’ उनले भनिन्, ‘त्यसपछिको मानसिक तनावका कारण उहाँले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्महत्या गर्ने प्रयास गरेको खबरले आज हामी अत्यन्त दुःखी भएका छौँ ।’
उनले यो घटना एउटा व्यक्तिको दुःखद अन्त्य मात्र नभई राइड सेयरिङ क्षेत्रमा काम गरिरहेका हजारौँ युवाले भोगिरहेका व्यावहारिक समस्यातर्फ राज्यको ध्यानाकर्षण गराउने संकेत भएको बताइन् ।
‘यस्ता युवाहरूलाई अनावश्यक रूपमा दुःख दिने होइन, उनीहरूको काम गर्ने वातावरणलाई सुरक्षित र सहज बनाउने राज्यको दायित्व हो,’ सांसद तामाङले भनिन् ।
उनले राइड सेयरिङ सेवामा आबद्ध सवारी साधनलाई छुट्टै पहिचान हुने स्टिकर वा आधिकारिक चिन्ह उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।
उनले भनिन्, ‘राइड सेयरिङ सेवामा आबद्ध सवारी साधनलाई छुट्टै पहिचान हुने स्टिकर वा अन्य आधिकारिक चिन्ह उपलब्ध गराई ट्राफिक प्रहरी तथा स्थानीय तहका निकायले टाढैबाट पहिचान गर्न सक्ने व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिक्रिया