काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। उनले आत्मदाहको प्रयास किन गरे भन्ने कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि शुक्रबार पनि मुगुको सोरु गाउँपालिकाका २० वर्षीय गणेश नेपालीको मृत्यु भएको थियो । उनले बिहीबार आफैँमाथि आगो लगाएका थिए ।
गणेश नेपाली प्रकरणले तरंगित भइरहेका बेला राउतले पनि आत्मदाह गरेका हुन् । नेपालीको शव परिवारले बुझ्न मानेको छैन । नेपालीको मृत्युसँगै वर्तमान बालेन सरकारको कार्यशैलीमाथि व्यापक प्रश्न उठेका छन् ।

प्रतिक्रिया