गण्डकी। नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस बुधबार गण्डकी प्रदेशका कास्कीलगायत जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाली कांग्रेस, कास्कीले दिवसका अवसरमा विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता र पोखराको पर्यटनसम्बन्धी नीति लेखन प्रस्तुतीकरण प्रतियोगिता आयोजना गर्यो ।
कुल ११ जना सहभागी उक्त प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदीप सिग्देल द्वितीय र सङ्गीता गौतम तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २५ हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै, बिपीबाट आजका युवाले के सिक्ने ? विषयक वक्तृत्वकला प्रतियोगितामा सम्पन्न गरिएको कास्की कांग्रेसले जनाएको छ । सो प्रतियोगितामा एसओएसकी प्रेरिका बराल प्रथम, लक्ष्मी आदर्श माविकी सम्झना बेलवासे द्वितीय, एसओएसकै अनुजा गौतम तृतीय र रामज्योति माविकी स्वेच्छा परियार सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, आठ हजार, पाँच हजार र दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपीले देश र जनताको पक्षमा निडर भएर काम गरेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बिपीका विचार र सिद्धान्तलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । स्थानीय धर्म अधिकारीले बिपीको राजनीतिक जीवन र साहित्यकार सञ्जीव पौडेलले साहित्यिक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।
नेपाली कांग्रेस, बागलुङले दिवसका अवसरमा हरित वातावरणका लागि जलवायु संवादको आयोजना गर्यो । उक्त कार्यक्रमका विषयवक्ता गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तन विश्वव्यापी मुद्दा भएको बताउनुभयो । विश्वले जलवायु परिवर्तनको अभूतपूर्व चुनौती सामना गरिरहेको उहाँको भनाइ थियो ।
“यसको प्रभाव वातावरणमा मात्र नभई कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, जैविक विविधतालगायत क्षेत्रमा परिरहेको छ”, उहाँले भन्नुभयो, “हाम्रो जस्तो जलवायु संवेदनशीलता भएको मुलुकमा बिपीको दूरदर्शी सोचलाई आजको जलवायु सङ्कट, दिगो विकास र भावी पुस्ताप्रतिको हाम्रो दायित्वसँग जोडेर हेर्नुपर्छ ।”
बिपी कोइराला राजनीतिक व्यक्तित्व मात्र नभएर योजनाबद्ध विकासका पक्षधर र प्राकृतिक स्रोतसाधनको संरक्षण तथा न्यायोचित वितरणलाई राष्ट्रिय समुन्नतिसँग जोड्नुपर्छ भन्ने मान्यता राख्ने दूरदर्शी नेता भएको उहाँको भनाइ छ । दिवसका अवसरमा बागलुङ नगरपालिका–१ रामरेखामा रहेको बीपी उद्यानमा सफाइ र वृक्षरोपण गरिएको थियो । गण्डकीका अन्य जिल्लामा पनि दिवस मनाइएको छ ।

प्रतिक्रिया