काठमाडौं । धनगढीमा अनशनरत डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ ।
शिक्षा मन्त्रालयको अग्रसरतामा गठन गरिएको सरकारी वार्ता टोलीले आइतबार धनगढी पुगेर केसीसँग छलफल थालेको हो ।
वार्तामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्राडा जगदीशप्रसाद अग्रवाल सहभागी छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बम पनि सरकारी टोलीमा रहेका छन् ।
डा. केसीको पक्षबाट उनका प्रतिनिधिसहित वार्तामा सहभागिता रहेको छ ।
डा. केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षामा छात्रवृत्तिको कोटा वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबारदेखि धनगढीमा आमरण अनशन सुरु गरेका थिए ।
अनशनका क्रममा स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार गरिँदै आएको छ । सरकार र डा. केसी पक्षबीच उनका मागका विषयमा सहमति जुटाउने उद्देश्यले वार्ता अघि बढाइएको हो ।
केसीका मागहरू –
१) स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् ।
२) चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् ।
३) राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् । साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस् ।
४) सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस् ।

प्रतिक्रिया