रास्वपाका हरेक सांसदले प्रधानमन्त्री राहत कोषमा १५ हजार जम्मा गर्ने

रास्वपाका हरेक सांसदले प्रधानमन्त्री राहत कोषमा १५ हजार जम्मा गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा थप व्यक्तिगत योगदान गर्ने भएका छन् ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका सदस्यहरूले जनही न्यूनतम १५ हजार रुपैयाँका दरले राहत कोषमा योगदान गर्ने प्रस्ताव अघि बढाइएको छ । संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलपछि उक्त प्रस्ताव अघि बढाइएको उनले जानकारी दिए ।

यसअघि नै रास्वपाले पार्टीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ । उक्त रकममा पार्टीका सांसदहरूबाट मासिक रूपमा पार्टीमा कट्टा हुने लेवीसमेत समावेश रहेको बुर्लाकोटीले बताएका छन् ।

त्यसबाहेक सांसदहरूले व्यक्तिगत रूपमा पनि राहत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका छन् । सांसदहरूबाट जनही न्यूनतम १५ हजार रुपैयाँका दरले योगदान गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ जम्मा हुने र सोहीअनुसार कार्यान्वयन अघि बढाइने बुर्लाकोटीले बताएका छन् ।