इरानको पिकएक्स माउन्टेन : ट्रम्पको निशानामा किन ?

इरानको पिकएक्स माउन्टेन : ट्रम्पको निशानामा किन ?


एजेन्सी । हालै इरानलाई लक्षित आफ्ना चेतावनीपूर्ण अभिव्यक्तिहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा यस्तो स्थानको उल्लेख गरेका छन्, जुन इरानका अन्य आणविक केन्द्रजत्तिकै चर्चित छैन ।

तेहरानले सम्भवतः आफ्ना आणविक सेन्ट्रिफ्युजहरू ‘पिकएक्स माउन्टेन’ मा सारिसकेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा ट्रम्पले अमेरिका उक्त भूमिगत केन्द्रमाथि ‘अत्यन्त शक्तिशाली आक्रमण गर्नेछ, सम्भवतः धेरै चाँडै’ भन्ने प्रतिक्रिया दिएका थिए ।

इरानले भने यो निर्माणाधीन अत्यन्त सुरक्षित र बलियो भूमिगत केन्द्र भएको जनाएको छ । भविष्यमा यसले इस्फाहान प्रान्तको नतान्जस्थित उन्नत सेन्ट्रिफ्युज उत्पादन तथा एसेम्ब्ली केन्द्रको स्थान लिने बताइएको छ । नतान्ज राजधानी तेहरानबाट करिब २२० किलोमिटर दक्षिणमा अवस्थित छ ।

किन रहस्यको केन्द्र बन्यो पिकएक्स माउन्टेन?

यस केन्द्रको अनुमानित आकार, सुरुङहरूको गहिराइ तथा अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई प्रवेश अनुमति नदिइएकाले पिकएक्स माउन्टेन इरानले अन्य कुनै गोप्य उद्देश्यका लागि पनि प्रयोग गरिरहेको हुन सक्ने आशंका गरिएको छ ।

यसलाई इरानले उच्चस्तरमा संवर्धित युरेनियम भण्डारण गरेको हुन सक्ने प्रश्नसँग पनि जोडिएको छ ।

नतान्ज विस्फोटपछि सुरु भएको परियोजना

सन् २०२० जुलाई २ मा नतान्ज आणविक केन्द्रमा विस्फोट भएको थियो । इरानले त्यसलाई तोडफोडको घटना भनेको थियो । विभिन्न सञ्चार माध्यमहरूले त्यसको जिम्मेवार इजरायललाई ठहर गरे पनि इजरायलले कहिल्यै जिम्मेवारी स्वीकार गरेको छैन ।

केही महिनापछि इरानको आणविक ऊर्जा संगठनका तत्कालीन प्रमुख अली अकबर सालेहीले पहाडभित्र नयाँ, अझ आधुनिक र ठूलो केन्द्र निर्माण गरिने घोषणा गरेका थिए ।

त्यसपछि सन् २०२० को अन्त्यतिर नतान्जबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको कोलाङ गजलाह (पिकएक्स माउन्टेन) क्षेत्रमा नयाँ केन्द्र निर्माणका संकेत देखिन थाले ।

उपग्रह तस्वीरले के देखाउँछ?

उपग्रह तस्वीरहरूमा पहाडको पूर्व र पश्चिम भागमा दुई–दुई वटा सुरुङ प्रवेशद्वार देखिएका छन् । दक्षिणतर्फ पनि अर्को प्रवेशमार्ग देखिएको छ ।

अमेरिकी थिंक ट्यांक इन्स्टिच्युट फर साइन्स एन्ड इन्टरनेशनल सेक्युरिटी (आईएसआईएस) का अनुसार समुद्री सतहबाट करिब १,६०८ मिटर उचाइमा रहेको यस पहाडभित्र धेरै तहका भूमिगत संरचना हुन सक्छन् । तर भित्री नक्सामा पहुँच नभएकाले यसको वास्तविक संरचना निर्धारण गर्न सम्भव छैन ।

सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) का अनुसार सन् २०२५ जुनमा इजरायलसँग १२ दिनसम्म चलेको युद्धपछि इरानले यस केन्द्रको सुरक्षा अझ कडा बनाएको थियो । सम्पूर्ण परिसर वरिपरि लगभग पर्खाल निर्माण गरिएको छ ।

निर्माण अझै पूरा भएको छैन

आईएसआईएसले सन् २०२६ फेब्रुअरीमा सार्वजनिक गरेको विश्लेषणअनुसार सुरुङका प्रवेशद्वारहरू थप मजबुत बनाइँदै थिए । एउटा तस्वीरमा प्रवेशद्वारमाथि नयाँ कङ्क्रिट हालिएको देखिएको थियो भने अर्कोमा चट्टान र माटो सम्याइएको थियो ।

यद्यपि आईएसआईएसको पछिल्लो मूल्यांकनअनुसार यो केन्द्र अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन ।

सन् २०२६ जुलाई ९ का उपग्रह तस्वीरहरूले केही प्रवेशद्वार अझै खुला रहेको र त्यहाँसम्म पुग्न सकिने देखाएका छन् ।

त्यसैबीच, अमेरिकी र इजरायली आक्रमणपछि नतान्ज, फोर्दो र इस्फाहानका अन्य आणविक केन्द्रहरूको पुनर्निर्माण भएको उल्लेखनीय संकेत भने उपग्रह तस्वीरमा देखिएको छैन ।

इरानको दाबी

गत जुलाई २२ मा इरानी विदेश मन्त्रालयले पिकएक्स माउन्टेनमा कुनै पनि प्रकारको आणविक गतिविधि नभएको दाबी गरेको थियो ।

युरेनियम संवर्धन केन्द्र बन्न सक्ने अनुमान

आईएसआईएसका अनुसार यो परिसर यति ठूलो छ कि यहाँ सानो आकारको युरेनियम संवर्धन केन्द्र स्थापना गर्न सकिन्छ । यहाँ उच्च क्षमताका उन्नत सेन्ट्रिफ्युज राख्न सकिने भएकाले कम संख्याका मेसिनबाट पनि ठूलो मात्रामा संवर्धित युरेनियम उत्पादन गर्न सकिन्छ ।

यद्यपि त्यहाँ यस्ता सेन्ट्रिफ्युजका शृंखला (क्यास्केड) जडान भइसकेको कुनै प्रमाण आईएसआईएससँग छैन ।

विशेषज्ञहरूका अनुसार उपग्रह तस्वीरहरूमा आणविक रियाक्टर निर्माणसँग सम्बन्धित सामान्य संकेतहरू—जस्तै कूलिङ टावर, प्रयोग भइसकेको इन्धन भण्डारण गर्ने पोखरी वा ठूलो पानी आपूर्ति प्रणाली—देखिएका छैनन् ।

यस कारण पिकएक्स माउन्टेनबारे अनेक अनुमान गरिए पनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का आधिकारिक प्रतिवेदन, सार्वजनिक गुप्तचर दस्तावेज वा प्रमाणित तस्वीरहरूले ती दाबी पुष्टि गरेका छैनन् ।

बंकर बस्टर बमबाट आक्रमण कत्तिको सम्भव?

अमेरिकाले यसअघि इरानको फोर्दो आणविक केन्द्रमा १३.६ टन तौलको जीबीयू–५७ बंकर बस्टर बम प्रयोग गरेर आक्रमण गरेको थियो । यो बम माटो, चट्टान र बलियो कङ्क्रिटका तहहरू छेडेर भित्र विस्फोट गर्न डिजाइन गरिएको हो ।

यद्यपि यस्ता आक्रमणको सफलता चट्टानको प्रकृति, केन्द्रको गहिराइ तथा बम प्रहारको कोणजस्ता पक्षमा निर्भर हुन्छ ।

फोर्दोमाथि आक्रमण गर्नुअघि अमेरिका र इजरायलले वर्षौँसम्म त्यस केन्द्रबारे विस्तृत जानकारी सङ्कलन गरेका थिए ।

तर म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का आणविक अनुसन्धानकर्ता म्याथ्यु शार्पका अनुसार पिकएक्स माउन्टेनमा त्यही स्तरको सफलता प्राप्त हुने अपेक्षा गर्नु उपयुक्त नहुन सक्छ ।

उनका अनुसार यो केन्द्र अझ गहिराइमा निर्माण गरिएको छ र यसको वास्तविक संरचनाबारे अत्यन्त कम जानकारी उपलब्ध छ । यदि आणविक सामग्री सबैभन्दा गहिरो तहमा राखिएको छ भने हवाई आक्रमणले त्यसलाई पूर्ण रूपमा नष्ट गर्न सक्ने वा नसक्ने स्पष्ट छैन ।

यद्यपि त्यस्तो आक्रमणले सुरुङका प्रवेशद्वार, पहुँच मार्ग, विद्युत् आपूर्ति तथा भेन्टिलेसन प्रणालीमा क्षति पुर्‍याएर केन्द्रको सञ्चालनमा ठूलो अवरोध ल्याउन सक्छ । भविष्यमा यसको प्रयोग नै कठिन वा असम्भव बन्न सक्ने विशेषज्ञहरूको भनाइ छ ।

यही कारण पछिल्ला दिनहरूमा ट्रम्पले पिकएक्स माउन्टेनलाई विशेष रूपमा चेतावनीको केन्द्र बनाएको विश्लेषण गरिएको छ । यसको गहिरो भूमिगत संरचना, कडा सुरक्षा व्यवस्था र इरानको सम्भावित आणविक कार्यक्रममा यसको भूमिकाले अमेरिकी अधिकारीहरूको विशेष चासो तानेको छ ।