सुनसरी घटना छानबिनका लागि समिति बनाइयो

सुनसरी घटना छानबिनका लागि समिति बनाइयो


काठमाडौं । सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ । यसैबीच, सुनसरी घटनाबारे छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाइएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। अहिले पनि स्थानीयवासीले कर्फ्यु उल्लंघन गरी प्रदर्शन गरिरहेका छन् ।

सुनसरीका सांसद लालविक्रम थापाले प्रहरीले छातिमा ताकी ताकी गोली चलाएको बताएका छन् ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रमुखसँग छलफल गरेका थिए। सोही छलफलपछि छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको हो।

छलफलमा गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललगायत सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए।