काठमाडौं । सुनसरीको देवानगन्जमा कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
आइतबार राति भएको झडपपछि उत्पन्न तनावका क्रममा एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र आसपासका पाँच क्षेत्रमा सोमबार बिहानदेखि कर्फ्यू आदेश जारी गरेको थियो।
तर, कर्फ्यूको अवज्ञा गर्दै सोमबार मध्याह्नदेखि प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणबाहिर जान थालेको भन्दै प्रशासनले नेपाली सेना परिचालन गरेको हो।
आइतबार राति देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा अन्य नौ जना घाइते भएका छन्।
हाल सुरक्षा निकायले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। गृह मन्त्रालयले छानबिन समितिसमेत बनाइसकेको छ ।

प्रतिक्रिया