विपक्षीको अडान कायमै – प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गरेर अभिव्यक्ति सच्चाउनुपर्छ

विपक्षीको अडान कायमै – प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गरेर अभिव्यक्ति सच्चाउनुपर्छ


काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिले संसद्‌मा उत्पन्न गतिरोध अन्त्य गर्न प्रधानमन्त्री स्वयं प्रतिनिधिसभामा उपस्थित भएर आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

सभामुख डीपी अर्यालले मंगलबार प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलका प्रतिनिधिहरूले संसद्को अवरोध हटाउने उपायबारे आफ्ना धारणा राखेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सभामुखले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिको विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने प्रस्ताव अघि सारेको जानकारी दिए ।

त्यसक्रममा विपक्षीले प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो भनाइ स्पष्ट पार्दै सदनको वातावरण सहज बनाउन पहल गर्नुपर्ने धारणा राखेको उनले बताए ।

दुलालका अनुसार पछिल्लो समय भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाका साथै सरकारका काम, प्रतिबद्धता र संसद्‌मा उठेका विषयमा प्रधानमन्त्रीले सांसदहरूलाई प्रत्यक्ष सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको विपक्षीको जोड थियो ।

उनले प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था कार्यान्वयन हुन नसकेको विषय पनि उठाइएको बताए ।

त्यस्तै, शून्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नको सरकारले समयमै जवाफ नदिँदा संसद्को प्रभावकारिता कमजोर बनेको विपक्षीको भनाइ छ ।