फेटामा अस्पताल उद्घाटन विवाद चर्कियो

फेटामा अस्पताल उद्घाटन विवाद चर्कियो

गोली लागेका युवकलाई काठमाडौं पठाउने तयारी


बारा ।बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा भएको विवादपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित करिब ३८ जना सरकारी कर्मचारी झन्डै दुई घण्टा थुनिएका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको पहलमा सकुशल उद्धार गरिएको छ।

स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि घटनास्थलमा तनाव बढेको थियो। त्यसक्रममा स्वास्थ्य चौकीको मुख्य भवनभित्र रहेका प्रहरी निरीक्षकसहित निजामती कर्मचारीहरू बाहिर निस्कन नसकी घेराबन्दीमा परेका थिए।

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बिहान साढे १० बजेदेखि स्वास्थ्य चौकीको मुख्य भवनभित्र थुनिएका कर्मचारीलाई करिब दुई घण्टापछि सुरक्षित रूपमा बाहिर निकालिएको हो।

शनिबार बिहान फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उनको विपक्षी समूहबीच विवाद भएको थियो। विवादले उग्ररूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।

घटनापछि स्वास्थ्य चौकी क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रहरीले गोली चलाउँदा स्थानीय युवक आदित्य पासवान घाइते भएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।