काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सको दुरुपयोग गरी सरकारी सम्पत्तिमा हिनामिना गरेको आरोपमा धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडा अध्यक्ष विजयकुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार यादवले भारतीय राजदूतावाससँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडावासीलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले निःशुल्क प्राप्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी अभिलेखमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेका थिए ।
अनुसन्धानका क्रममा एम्बुलेन्स सञ्चालनसम्बन्धी लगबुक, सेवा विवरण, निःशुल्क तथा शुल्क लिएर प्रदान गरिएका सेवाको अभिलेख, इन्धन खर्चलगायतका कुनै पनि प्रमाणित कागजात नराखिएको तथा सेवा सञ्चालनबाट प्राप्त आम्दानी र खर्चको हिसाब पालिकामा दाखिला नगरेको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार यादवले सरकारी सार्वजनिक सम्पत्तिलाई निजी सवारीसरह प्रयोग गर्दै गैरकानुनी लाभ लिने उद्देश्यले तीन वर्ष पाँच महिनाको अवधिमा एम्बुलेन्स ३० हजार १८५ किलोमिटर सञ्चालन गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले निर्धारण गरेको एम्बुलेन्स सेवा शुल्कका आधारमा उनले १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हिनामिना तथा हानिनोक्सानी गरेको अख्तियारको निष्कर्ष छ ।
यस आधारमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३ बमोजिम यादवविरुद्ध कैद, बिगो बराबर जरिवाना तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा कानुनी कारबाहीबाट उन्मुक्ति पाउने उद्देश्यले यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरेको देखिएकाले उक्त रकम घटाएर बाँकी ११ लाख २७ हजार ६५३ रुपैयाँ असुलउपर गर्न पनि आयोगले अदालतसँग माग गरेको छ ।

प्रतिक्रिया