काठमाडौं । फ्रान्सका पूर्व विश्वकप विजेता तथा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई फ्रान्स राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।
सन् २०२६ को विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि १४ वर्षदेखि टोली सम्हाल्दै आएका डिडिएर डेसचाम्प्सले पद छाडेका थिए । त्यसपछि फ्रेन्च फुटबल महासंघ (FFF) ले जिदानलाई टोलीको नयाँ मुख्य प्रशिक्षक बनाएको हो ।
सन् १९९८ मा फ्रान्सलाई पहिलो पटक विश्वकप जिताएका जिदान सन् २०२१ मा दोस्रोपटक रियल म्याड्रिडको प्रशिक्षक पद छाडेपछि कुनै पनि टोलीको जिम्मेवारीमा थिएनन् ।
५४ वर्षीय जिदानले सन् २०३० को विश्वकप छनोटसम्म टोली सम्हाल्ने गरी सम्झौता गर्नेछन् ।
नियुक्तिपछि जिदानले फ्रान्सको राष्ट्रिय टोलीको नेतृत्व गर्नु आफ्नो जीवनको ठूलो गौरव भएको बताए । उनले भने, “मैले सधैं भन्ने गरेको छु, फ्रान्सको राष्ट्रिय टोलीभन्दा ठूलो कुरा केही छैन । यो टोलीको प्रशिक्षक बन्न पाउनु मेरा लागि खुसी र अत्यन्त गर्वको विषय हो ।”
उनले फ्रेन्च फुटबल महासंघका अध्यक्ष फिलिप डियालो, कार्यसमिति र महासंघप्रति विश्वासका लागि आभार व्यक्त गर्दै डिडिएर डेसचाम्प्स र उनको टोलीले १४ वर्षमा पुर्याएको योगदानको पनि प्रशंसा गरे । जिदानले फ्रान्सेली टोलीसँग आफूले ठूलो महत्वाकांक्षा राखेको पनि बताएका छन् ।
महासंघका अध्यक्ष फिलिप डियालोले जिदानको नियुक्तिलाई फ्रान्सेली फुटबलका लागि गर्वको क्षण बताएका छन् ।
उनले भने, “जिदान फ्रान्सेली फुटबलका जीवित किंवदन्ती हुन् । उनी आफ्नो पुस्ताका सबैभन्दा सफल र सम्मानित प्रशिक्षकमध्ये एक हुन् । उनको नेतृत्वमा हाम्रो प्रतिभाशाली टोलीले अझ ठूलो सफलता हासिल गर्ने विश्वास छ ।”

प्रतिक्रिया