उज्यालो नेपाल पार्टीले ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने

उज्यालो नेपाल पार्टीले ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने


काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा राखेर राष्ट्रिय रूपान्तरणको अभियान अघि बढाउने निर्णय गरेको छ ।

साउन ९ देखि ११ गतेसम्म काठमाडौंस्थित उज्यालो घरमा बसेको तीनदिने बैठकले वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आर्थिक चुनौती, कृषि, ऊर्जा, सहकारी पीडित, युवा पलायन तथा राष्ट्रिय हितका विषयमा छलफल गरी विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको पार्टीले जनाएको छ ।

बैठकले नेपाल राजनीतिक परिवर्तनपछि अब आर्थिक रूपान्तरण, सुशासन र नागरिकको जीवनस्तर सुधार गर्ने चरणमा प्रवेश गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टीले बेरोजगारी, युवा पलायन, कमजोर उत्पादन प्रणाली, कृषि संकट, भ्रष्टाचार, प्रशासनिक अक्षमता र लगानी वातावरणको कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ ।

उज्यालो नेपाल पार्टीले प्राकृतिक स्रोत, मानव क्षमता र प्रविधिको उपयोग गर्दै आत्मनिर्भर तथा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित ‘हरितक्रान्ति, समृद्धि र शान्तिको राष्ट्रिय मार्ग’ अघि सारेको छ ।

पार्टीका अनुसार हरितक्रान्ति केवल वातावरण संरक्षणको विषय नभई कृषि, ऊर्जा, उद्योग, पर्यटन, पूर्वाधार र उत्पादन प्रणालीलाई नयाँ दिशामा लैजाने आर्थिक रूपान्तरणको अभियान हो ।

बैठकले सरकारप्रतिको आफ्नो दृष्टिकोण अन्ध समर्थन वा पूर्वाग्रही विरोधमा आधारित नहुने स्पष्ट गरेको छ । जनहितकारी नीति र सकारात्मक काममा सहयोग गर्ने तथा जनविरोधी निर्णय, भ्रष्टाचार, कमजोर कार्यसम्पादन र संस्थागत कमजोरीविरुद्ध लोकतान्त्रिक ढंगले आवाज उठाउने निर्णय गरेको छ ।

पार्टीले राज्य सञ्चालनमा व्यक्ति केन्द्रित निर्णय प्रणाली हावी हुँदै गएको भन्दै संस्थागत लोकतन्त्र, कानुनको शासन र निष्पक्ष कार्यान्वयन आवश्यक रहेको जनाएको छ ।

बैठकले किसानलाई गुणस्तरीय मल, बीउ, कृषि सामग्री, उचित बजार र समर्थन मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै सहकारी पीडित, लघुवित्त तथा मिटरब्याज पीडित नागरिकको समस्या तत्काल समाधान गर्नुपर्नेमा पार्टीले जोड दिएको छ । सहकारी ठगीमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरी पीडितको रकम फिर्ता गर्ने व्यवस्था गर्नुपर्ने पार्टीको माग छ ।

काठमाडौंलगायत विभिन्न स्थानका सुकुम्वासी बस्ती व्यवस्थापनका क्रममा मानवीय पक्षलाई बेवास्ता गरिएको भन्दै पार्टीले दीर्घकालीन समाधानसहित पुनस्र्थापनाको माग गरेको छ ।

उज्यालो नेपाल पार्टीले विद्युत उत्पादन वृद्धि भइरहे पनि स्वदेशमै विद्युत खपत बढाउने नीति आवश्यक रहेको जनाएको छ । विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्नुपर्ने अवस्थामा कर बढाएर निरुत्साहित गरिएको भन्दै पार्टीले आपत्ति जनाएको छ ।

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योगबाट बाँकी विद्युत महसुल असुल गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै कानुनअनुसार बक्यौता उठाउन माग गरेको छ ।

विद्युत उपभोग र राइड सेयरिङ सेवामा लगाइएको कर फिर्ता लिन तथा बजार मूल्य नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न पनि पार्टीले माग गरेको छ ।

बैठकले नेपालको परराष्ट्र सम्बन्ध सञ्चालनमा संस्थागत प्रक्रिया बलियो हुनुपर्ने बताउँदै बदलिँदो विश्व शक्ति सन्तुलनबीच नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीति सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ ।

उज्यालो नेपाल पार्टीले आफू सरकारको आलोचना मात्र गर्ने नभई समाधान प्रस्तुत गर्ने वैकल्पिक राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको जनाएको छ ।

बैठकले संगठन विस्तार, सदस्यता अभियान र वैचारिक स्पष्टतासहित पार्टीलाई दीर्घकालीन राष्ट्रिय रूपान्तरणको नेतृत्व गर्न सक्ने राजनीतिक शक्तिका रूपमा विकास गर्ने निर्णय गरेको छ ।

पार्टीले जनतामा बढ्दो असन्तोष, युवाको निराशा र राज्यप्रतिको घट्दो विश्वासलाई सम्बोधन गर्न परिणाममुखी राजनीति आवश्यक रहेको निष्कर्ष निकाल्दै आफूलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।