रौतहट । पर्साको वीरगञ्जमा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाएका छन् ।
वीरगञ्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की र ३ वर्षीया घघरी छन् । सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानीयका अनुसार सोमबार दिउँसो दुवै बालिका आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए । हजुरबुवा खेतको काममा व्यस्त रहँदा बालिकाहरू नजिकै खेलिरहेका थिए । केही समयपछि हजुरबुवा उनीहरूलाई खेतमै छाडेर केही बेरका लागि घर फर्किएका थिए ।
तर, घरबाट पुनः खेतमा फर्किंदा दुवै बालिका त्यहाँ थिएनन् । हजुरबुवा र परिवारका अन्य सदस्यहरूले तत्कालै गाउँ, छिमेक, आफन्त र सम्भावित सबै ठाउँमा खोजी गरे पनि बालिकाहरूको कुनै अत्तोपत्तो लाग्न सकेन ।
खोजतलास गर्दा पनि छोरीहरू नभेटिएपछि परिवारमा रुवाबासी चल्यो। सोमबार राति ढिलोसम्म खोज्दा पनि फेला नपरेपछि बालिकाकी आमा अन्तिममा देवीले राति इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा आफ्ना नाबालक छोरीहरू हराएको लिखित/मौखिक जानकारी गराएकी थिइन् ।
आमाको उजुरी लगत्तै प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरी रातभर खोजी कार्य जारी राखिएको थियो । यसै क्रममा मंगलबार बिहान उनीहरू हराएको खेतभन्दा करिब ५ सय मिटर पूर्वतर्फ रहेको निर्माणाधीन पुलको खाल्डोमा दुवै बालिकाको शव फेला परेको हो । वर्षा र निर्माण कार्यका कारण उक्त खाल्डोमा ठूलो परिमाणमा पानी जमेको थियो, जहाँ सन्तुलन गुमाएर खस्दा बालिकाहरूको डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।
घटनाको जानकारी पाएलगत्तै पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया