इन्जिनियरले १६ वर्ष जागिर खाँदा जोडे २ करोड २६ लाख रुपैयाँको अवैध सम्पत्ति

इन्जिनियरले १६ वर्ष जागिर खाँदा जोडे २ करोड २६ लाख रुपैयाँको अवैध सम्पत्ति


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार चौधरीविरुद्ध प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा २०६५ पुस ११ गतेदेखि २०८२ असार २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो।

अनुसन्धानका क्रममा चौधरी तथा उनको एकाघर परिवारको वैधानिक आम्दानी २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा रहेको देखिएको छ। उक्त आम्दानीमा सरकारी सेवाबाट प्राप्त तलब, जग्गा बिक्री, श्रीमतीको तलब, बैंक ऋण, घरबहाल, बैंक ब्याज, कृषि आय, कर्मचारी सञ्चय कोषको ऋण तथा बुबाको पेन्सनलगायतका स्रोत समावेश छन्।

यही अवधिमा भने जग्गा तथा घर खरिद, सवारीसाधन, बीमा, छोराछोरीको अध्ययन, बैंक ऋणको साँवा–ब्याज भुक्तानी, विभिन्न कम्पनीमा लगानी, शेयर, फर्निचर, घर निर्माण, ट्र्याक्टर, सुन खरिद तथा बैंक मौज्दातसमेत गरी कुल ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आम्दानी र खर्चको तुलना गर्दा चौधरीको वैधानिक आयभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बढी खर्च भएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ।

आयोगका अनुसार चौधरीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको तथा वास्तविक सम्पत्ति विवरण लुकाई झुट्टा विवरण पेश गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो।

आयोगले उक्त रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा २०(२) बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। साथै झुट्टा सम्पत्ति विवरण पेश गरेको अभियोगमा दफा १६(२) अनुसार थप कैद, जरिवाना र लुकाइएका सम्पत्ति जफत गर्नसमेत माग गरिएको छ।

चौधरीकी श्रीमती अर्पना कुमारीलाई भने गैरकानुनी स्रोतबाट खरिद तथा कायम भएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको आयोगले जनाएको छ।