ओपीडी बन्द गरेर चिकित्सकहरू प्रर्दशनमा

ओपीडी बन्द गरेर चिकित्सकहरू प्रर्दशनमा


काठमाडौं । नेपाल चिकित्सक संघ विभिन्न खालका माग राख्दै आन्दोलनमा उत्रिएको छ । संघले बुधबार देशभर ओपीडी सेवा बन्द गरेको छ । संघको अगुवाइमा चिकित्सकहरूले बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने माग गर्दै मइतीघर मण्डलामा मा प्रदर्शन गरेका छन् ।

आक्रमणमा घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा उपचार भइरहेको छ ।

नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. तेजसुसिंह मल्लले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । डा. मल्लले सरकारले चिकित्सकहरूको माग यथाशीघ्र सम्बोधन गरे आन्दोलन पनि तत्काल फिर्ता हुने बताए ।

उनले भने, ‘सरकारले जति छिटो माग पुरा गर्दिन्छ त्यति नै चाँडै आन्दोलन बन्द हुन्छ । सरकारलाई आग्रह छ की छिटो भन्दा छिटो दोषीलाई समातेर कानुनी दायरामा ल्याउन कानुनी कारबाही गर्ने आग्रह गर्दछौँ ।’

उनले चिकित्सकमाथि भएको घटनाको विरोधमा जारी आन्दोलनअन्तर्गत देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरिएको बताए ।

हाल देशव्यापी रूपमा ओपिडी सेवा बन्द रहेको छ भने नारायणी अस्पतालमा इमरजेन्सी सेवा समेत ठप्प रहेको उनले जानकार दिए । उनले घटना भएको ३/४ दिन बितिसक्दा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘घटना घटेको ३/४ दिन भयो । सरकारले यस्तो हुन्छ भनेर अनुमान गर्नु पदैन् । पहिलाको सरकार हुँदा पनि र अहिलेको सरकार हुँदा पनि हामीले यस्तो भोगी नै रहेका छौँ ।’

यस्तै, डा. विना श्रेष्ठले चिकित्सकहरूको आन्दोलनको मुख्य उदेश्य डाक्टरहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताएकी छन् । उनले सुरक्षित वातावरणमा मानसिक रूपमा ढुक्क भएर सेवा दिन पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘हाम्रो आन्दोलनको माग भनेको डाक्टरको सुरक्षा हो । हामीले अरू केही मागेको छैन । मेन्टल्ली एकदमै स्वास्थ्य भएर सर्भिस दिन चाहन्छौँ । हरेक चोटि कार्यस्थलमा पुगेपछि कसैले पिट्ने हो कि वा गाली गर्ने हो कि, सामाजिक सञ्जालमा तथानाम भन्ने हो कि भन्ने डरले बाच्न नपरोस् त्यति मात्र हो हाम्रो माग ।’

उनका अनुसार चिकित्सकहरू प्रत्येक पटक कार्यस्थलमा पुग्दा कुटपिट, दूव्र्यवहार, गालीगलौज तथा सामाजिक सञ्जालमा चरित्रहत्या हुने डरमा काम गर्न बाध्य छौं । यस्तो अवस्था अन्त्य हुनुपर्ने माग रहेको उनले बताइन् ।

डा. श्रेष्ठले वीरगञ्जमा एक चिकित्सकमाथि भएको आक्रमणको उल्लेख गर्दै घटनामा घाइते चिकित्सक ट्रमा उपचारमा रहेको जानकारी दिइन्। उनले यस्ता घटनाहरू पटक–पटक दोहोरिनु दुःखद भएको भन्दै चिकित्सकहरूको सुरक्षाका लागि सरकारले विद्यमान कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिन् ।

उनले भनिन्, ‘डाक्टरलाई ज्यानै जाने हिसाबले कुटेको छ। वीरगन्जमा उहाँको ट्रमामा उपचार भइरहेको छ । यस्तो अवस्था कति चोटि सहने । त्यो भएको हुनाले हामीलाई सरकारद्वारा भएका कानुनहरू पनि सही ढंगले कार्यान्वयन होस् भन्ने चाहन्छु ।’