काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू छन् ।
प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारूको डीबीसी सम्पन्न भई पिलर उठाइएको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्यांकीमा बुधबार बिहान करिब ९ बजे उनीहरू फसेका थिए ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरीको टोली उद्धारका लागि पुगेको थियो । जेसीबीको सहायताले सेप्टिक ट्यांकी फुटाएर उनीहरूलाई बाहिर निकालिएको भए पनि तीनै जना मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
मृतकहरूको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया