ब्रड पिकमा बेपत्ता निर्मल पुर्जासहित ७ आरोहीको खोजी अभियान पुनः सुरु

ब्रड पिकमा बेपत्ता निर्मल पुर्जासहित ७ आरोहीको खोजी अभियान पुनः सुरु


काठमाडौं । गत बिहीबार पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परेर बेपत्ता भएका १० सदस्यीय आरोही टोलीमध्ये अझै हराइरहेका सात जनाको खोजी तथा उद्धार अभियान शनिबार बिहान पुनः सुरु गरिएको छ।

क्षेत्रको प्रतिकूल मौसमका कारण शुक्रबार साँझ अभियान स्थगित गरिएको थियो।

शुक्रबार ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ र अमेरिकाकी म्यालोरी गाइसको शव फेला पारिएको थियो। उनीहरूको शव हेलिकोप्टरमार्फत स्कार्दु लगिएको छ।

अझै बेपत्ता हुनेमा नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यस्तै पाकिस्तानका सोहेल साखी र चीनका वाङ झोङ पनि सम्पर्कविहीन छन्।

स्थानीय प्रशासनका अनुसार प्रख्यात पर्वतारोही सरबाज खानको नेतृत्वमा तीन सदस्यीय नागरिक उद्धार टोली खोजी तथा उद्धार अभियानमा खटिएको छ।

उक्त टोलीले शनिबार बिहानैदेखि सात बेपत्ता आरोहीको खोजीका लागि स्थलमार्गबाट अभियान पुनः सुरु गरेको हो। साथै, आधार शिविर (बेसक्याम्प) मा रहेका अन्य अभियानका नेपाली पर्वतारोहीहरू पनि खोजी अभियानमा सहभागी भएका छन्।

पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शदले डन पत्रिकासँग कुरा गर्दै ब्रड पिक क्षेत्रमा खोजी अभियान जारी रहेको जानकारी दिए। उनका अनुसार पाकिस्तान सेनाका हेलिकोप्टरहरू पनि आरोहीहरू बेपत्ता भएको क्षेत्रमा परिचालन गरिएका छन्।

क्लबका महासचिव अयाज शिग्रीले पनि सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार अभियान सञ्चालन भइरहेको बताए।

उनका अनुसार ड्रोनबाट खिचिएको दृश्यका आधारमा उद्धार टोलीले करिब ६ हजार मिटर उचाइमा थप केही आरोही रहेको संकेत फेला पारेको छ।

‘दुर्गम हिमाली भूगोल, प्रतिकूल मौसम, हिमपहिरोको उच्च जोखिम र निरन्तर हिमपातका कारण उद्धार टोलीलाई काम गर्न निकै कठिन भइरहेको छ,’ उनले भने।

नेपाली सञ्चारमाध्यमका अनुसार चर्चित नेपाली पर्वतारोही मिङ्मा डेभिड शेर्पा पनि खोजी तथा उद्धार अभियानमा सहयोग गर्न पाकिस्तान पुगेका छन्। उनी नेपालबाट निर्मल पुर्जा तथा अन्य बेपत्ता आरोहीहरूको खोजीमा सहभागी हुन पाकिस्तान गएका हुन्।

क्षेत्रीय अधिकारीहरूका अनुसार बिहीबार ८,०४७ मिटर (२६,४०० फिट) अग्लो ब्रड पिकको सफल आरोहण गर्ने क्रममा करिब ६,६०० मिटर उचाइमा पुग्दा टोली हिमपहिरोमा परेको थियो।

आधिकारिक विवरणअनुसार टोलीसँग अन्तिम पटक बिहीबार बिहान सम्पर्क भएको थियो। सोही दिन साँझ शक्तिशाली हिमपहिरो गएको खबर सार्वजनिक भएको थियो।

पाकिस्तानको अल्पाइन क्लबकी सदस्य नाइला कियानीले फ्रान्सेली पत्रिका ले मोन्देसँग कुरा गर्दै ट्र्याकिङ उपकरणबाट प्राप्त तथ्यांकले हिमपहिरोले आरोहीहरूलाई पहाडको ढलानतर्फ सयौं मिटर तल फ्याँकेको देखाएको बताएकी छन्।