काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह पार्टी विभाजनको तयारीमा अगाडि बढेको छ । इतरपक्षले राष्ट्रिय भेला बोलाएको छ । भेला बोलाएसँगै अब कांग्रेसमा विभाजनको बलियो आधार तयार भएको छ ।
भेला यही साउन २९ र ३० गते काठमाडौंमा हुनेछ । भेलाको तयारी पूरा भएको आयोजक समितिले शनिबार पत्रकार सम्मेलनमार्फत जनाएको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित आयोजक समितिले भेला पार्टीलाई वैचारिक, नीतिगत र सांगठनिक रूपमा स्पष्ट दिशा दिने उद्देश्यले आयोजना गरिएको दाबी गरेको छ। इतरपक्षको अगुवाइ निवर्तमान कार्यसभापति पूर्णबहादुर खड्काले गर्दै आए पनि बीपीपुत्र शशांक कोइरालालाई आयोजक समितिको संयोजक बनाउनु महत्त्वपूर्ण रहेको छ । इतरसमूह अब शशांकको अगुवाइमा अगाडि बढ्न थालेको प्रस्ट भएको छ ।
आयोजक समितिका अनुसार ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरिएको छ। समितिमा पार्टीका पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व केन्द्रीय पदाधिकारी, प्रदेश सभापति, जिल्ला सभापति, महानगर तथा नगर सभापति, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलगायतलाई समेटिएको छ।
भेला व्यवस्थापनका लागि राजनीतिक प्रस्ताव, समसामयिक राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान संशोधन मस्यौदा, आर्थिक नीति, प्रचार–प्रसार, आवास तथा भोजन, स्वयंसेवक परिचालन, सांस्कृतिक, स्वास्थ्य, सुरक्षा तथा प्रशासन समन्वयलगायत १६ वटा विभिन्न समिति गठन गरिएको पनि जानकारी दिइएको छ।

प्रतिक्रिया