रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बीपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ ।
अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोलाहरुमा आउने आकस्मिक बाढीका कारण यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ ।
काठमाडौंबाट काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा तथा पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुँदै धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने प्रमुख मार्गका रूपमा रहेको बीपी राजमार्गको पुनर्निर्माण समयमै सम्पन्न नहुँदा यात्रु तथा सवारी चालकहरू उच्च जोखिममा यात्रा गर्न बाध्य भएका छन् ।
तीन वर्षअघि रोशी खोलामा आएको बाढीले राजमार्गको विभिन्न भाग बगाएपछि खोलाको किनार हुँदै अस्थायी सडक निर्माण गरेर सवारी सञ्चालन गरिएको छ । तर, माथिबाट निरन्तर झर्ने लेदो र हिलोका कारण यात्रा थप जोखिमपूर्ण बन्दै गएको छ ।
सवारी चालकहरूका अनुसार रोशी खोला तथा त्यसका सहायक खोलाहरूमा वर्षासँगै आउने बाढीले जुनसुकै बेला सडक बगाउने जोखिम रहन्छ । जलाधार क्षेत्रमा वर्षा सुरु हुनासाथ प्रहरीले सुरक्षाका लागि सवारी आवागमन रोक्ने गरेको छ । कतिपय दिनमा तीन–चार पटकसम्म यातायात अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
रोशीका सहायक खोलाहरूमा आउने बाढीले विशेषगरी दुईपाङ्ग्रे सवारीसाधन बगाउने घटना पटक–पटक दोहोरिने गरेको स्थानीयले बताएका छन् । यसले यात्रुको सुरक्षाप्रति थप चिन्ता बढाएको छ ।
यस वर्ष वर्षायामअघि नयाँ ट्र्याकबाट सवारी सञ्चालन गर्ने योजना भए पनि केही स्थानबाहेक अधिकांश क्षेत्रमा अझै अस्थायी सडककै भरमा यातायात सञ्चालन भइरहेको छ । समयमै पुनर्निर्माण सम्पन्न हुन नसक्दा बीपी राजमार्ग प्रयोग गर्ने हजारौं यात्रुको यात्रा अझै जोखिमपूर्ण बनेको छ ।

प्रतिक्रिया