रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु


काठमाडौं । रोमानियाको पूर्वी सहर बाकाउ (Bacău)मा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु भएको छ ।

रोमानियाको आपत्कालीन सेवा निकायका अनुसार आइतबार बिहान स्थानीय समयअनुसार करिब ३ः२१ बजे चिमिएई स्ट्रिटस्थित रेलमार्गमा हिँडिरहेका बेला उनीहरूलाई रेलले ठक्कर दिएको हो ।

घटनापछि बाकाउ आपत्कालीन अवस्था निरीक्षणालय (आईएसयू)ले दमकल, उद्धार टोली, मोबाइल सघन उपचार (एसएमयूआरडी) इकाइ तथा एम्बुलेन्ससहितको टोली घटनास्थलमा परिचालन गरेको थियो ।

उद्धारकर्मी घटनास्थल पुग्दा दुवै व्यक्तिमा कुनै जीवनचिन्ह नरहेको र चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेको आईएसयूले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट मृतकहरू नेपाली नागरिक रहेको खुले पनि उनीहरूको परिचय भने सार्वजनिक गरिएको छैन ।

घटनाबारे थप अनुसन्धानका लागि रोमानियाली प्रहरी र रेलसम्बन्धी अधिकारीहरूले संयुक्त अनुसन्धान सुरु गरेका छन् ।

दुवै व्यक्ति रेलमार्गमा कसरी पुगेका थिए र दुर्घटना कुन परिस्थितिमा भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।